तरकारी फार्म हाउसका सञ्चालकको हत्या, इनारमा भेटियो शव
काठमाडौँ। ललितपुर महालक्ष्मी नगरपालिका ८‚ लुभुमा एक युवकको हत्या गरिएको छ। शेरफाँटस्थित तरकारी फार्म हाउसको इनारमा हत्या गरी फालिएको अवस्थामा सिन्धुलीका २५ वर्षीय केशवराज हायूको शव फेला परेको हो।
हायू सोही फार्म हाउसका सञ्चालक रहेको ललितपुर प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले बताए। उनका अनुसार घटना २ पुसको रहेको बुझिएको छ।
हायूलाई फार्म हाउसबाहिरै हम्मर प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको बोगटीले बताए। “हत्या गरी शव बोरामा पोको पारेर इनारमा फालेको पाइएको छ,” बोगटीले भने।
उनको हत्या गर्ने व्यक्तिहरूको खोजी भइरहेको उनले बताए। “हत्यामा को-को संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको छ,” उनले भने।
शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ।