Taksar News
टिकटकले नेपालमा १९ लाख भन्दा बढी भिडियो हटायो
काठमाडौँ । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप २०२५ को चौथो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।
२०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्याङ्क समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ ।
नेपालमा २०२५ को चौथो त्रैमासिकमा नेपालमा कुल १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको छ । अक्टोबरदेखि डिसेम्बरसम्म सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९% कायम रहेको,जसमा ९८.४% भिडियो २४ घण्टाभित्र हटाइएको टिकटकले जनाएको छ ।
विश्वव्यापी रूपमा, यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५% हो । हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो रिभ्युपछि पुनस्र्थापना गरिएको थियो ।
यस त्रैमासिक अवधिमा एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको सङ्ख्यामा कमी आएको देखिएको छ । यसैबीच, नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको छ ।
प्रतिवेदन अनुसार, हटाइएका भिडियोमध्ये २१.२% मा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए ।
थप ९.१% भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १.२% भिडियोले गोपनीयता र सुरक्षा निर्देशिका उल्लङ्घन गरेका थिए । यसबाहेक, १.६% भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए र १.८% भिडियो सम्पादन गरिएको वा एआई–निर्मित सामग्री (ब्क्ष्न्ऋ) का रूपमा फ्ल्याग गरिएको थियो ।
टिकटक छोटो अवधिको मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो । यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र प्रयोगकर्तालाई मनोरञ्जन प्रदान गर्नु हो।
टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिङ्गापुरमा रहेको छ भने यसका कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन् ।