तीनवटा पदमार्गको सेवा सुधारसँगै पाँच गन्तव्यको प्रवर्धन गर्दै नेपाल पर्यटन बोर्ड
काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा तीनवटा पदमार्गको सेवा सुधारसँगै पाँच गन्तव्यको प्रवर्धन गर्ने भएको छ।
बोर्ड र युएनडिपीको सहकार्यमा दिगो पर्यटन परियोजना (एसटिपी) कार्यक्रम अन्तर्गत अपी हिमाल( सैपाल पदमार्ग), मनास्लु क्षेत्र ( बुद्ध हिमाल हिमालचुली ग्रेट लैक सर्किट) र कञ्चनजंगा भ्याली बेस क्याम्प पदमार्गको पर्यटन सेवा सुविधाको सुधार गर्न लागिएको हो।
यो सँगै २०२५ को अप्रिल देखि लागू भएको ३ वर्षे परियोजनामा प्रकृतिमा आधारित पर्यटन गन्तव्य, संस्कृतिमा आधारित पर्यटन गन्तव्य, साहसिक पर्यटन गन्तव्य, जलाश्यमा आधारित पर्यटन गन्तव्य, ठमेल गल्ली सुधार र पर्यावर्णमैत्री दिगो पर्यटन गाँउको प्रवर्धन गर्ने कार्ययोजना पनि रहेको छ।
पर्यटन सेवा सुविधाहरु मार्फत पर्यटकहरुको सुरक्षा गर्नुका साथै,संरक्षण र सन्तुष्टि अभिवृद्धि गर्दै स्थानीय समुदायका लागि आम्दानी र रोजगारी सिर्जना गर्ने परियोजनामा उल्लेख छ।
परियोजनामा प्रमुख पदमार्गहरुको स्तरोन्नति, विविध पर्यटकीय सेवाहरुको सुधार, भर्खरै उदाउँदै गरेको गन्तव्यहरुको प्रवर्धन, स्थानीय क्षमताको विकास तथा पर्यटन सेवाहरुको डिजिटल रुपान्तरणमा योगदान पुर्याउने लक्ष्यसमेत लिइएको छ।
त्यस्तै, यो परियोजना कार्यान्वयन गर्न बोर्डका कार्यकारी प्रमुख परियोजनाको राष्ट्रिय परियोजना निर्देशकको रुपमा काम गर्नेछन्। परियोजनालाई सहयोग गर्न राष्ट्रिय परियोजना संयोजक तोक्ने र दैनिक कार्य संचालन गर्न प्रबन्धक सहितको टीम बनाइनेछ।
The post तीनवटा पदमार्गको सेवा सुधारसँगै पाँच गन्तव्यको प्रवर्धन गर्दै नेपाल पर्यटन बोर्ड appeared first on BIZMANDU.