सिद्धार्थलाई सेभेन ए साइड फुटबलको उपाधि
सुमन अधिकारी, बुटवल
सिद्धार्थ इंग्लिस बोर्डिङ स्कुलले रुपन्देहीमा आयोजित दोस्रो जिल्ला स्तरीय रात्रीकालीन इन्टर स्कुल सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ।
बुटवल पब्लिक स्कुलले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनलमा गत वर्षको विजेता जनज्योति माविलाई पेनाल्टी सुटआउटमा हराउँदै सिद्धार्थ च्याम्पियन बनेको हो।
सिद्धार्थले ट्रफीसहित २० हजार रुपैयाँ र जनज्योतिले १० हजार रुपैयाँ प्राप्त गर्यो।
व्यक्तिगततर्फ जनज्योतिका युनिक कार्की उत्कृष्ट गोलकिपर घोषित भए भने सिद्धार्थका विशाल बिक सर्वोत्कृष्ट खेलाडी बने। सिद्धार्थका गोलकिपर अमन क्षेत्री प्लेयर अफ द म्याच घोषित भए।
तिलोत्तमा नगरपालिका–३ स्थित विद्यालयको मैदानमा भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा सिद्धार्थका गोलकिपर अमन क्षेत्रीले दुई प्रहार रोकेपछि टोली विजेता बन्न सफल भयो।
विजेता तथा उपविजेता टोलीलाई रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, प्रधानाध्यापक हेमलाल शर्मा, उपप्राचार्य रामचन्द्र पौडेल र प्रदीप थापाले पुरस्कार वितरण गरे।
कार्यक्रममा प्रधानाध्यापक हेमलाल शर्माले उमेर समूहमा पहिलोपटक रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरिएको बताउँदै ग्रासरुटबाटै खेलकुदको विकास हुने विश्वास व्यक्त गरे।
प्रतियोगितामा आयोजक बुटवल पब्लिक स्कुलसहित शान्ति नमुना माध्यमिक विद्यालय, अक्सफोर्ड इंग्लिस बोर्डिङ स्कुल, सिद्धार्थ बोर्डिङ स्कुल, जनज्योति माध्यमिक विद्यालय, प्यारामाउन्ट बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सैनिक आवासीय माध्यमिक विद्यालयको सहभागिता थियो।
The post सिद्धार्थलाई सेभेन ए साइड फुटबलको उपाधि first appeared on हाम्रो खेलकुद.