खजुरीको ‘प्याजी’
जनकपुरबाट करिब २२ किलोमिटर पूर्व लागेपछि पुगिन्छ, धनुषाको खजुरी गाउँ। यस गाउँलाई रेल्वेले सदरमुकामसँग जोडेको छ। यहाँका बासिन्दा सडकमार्गभन्दा पनि रेल चढेरै आउजाउ गर्छन्।
नेपालमा रेल्वेको सुरुआत भएसँगै खजुरीमा रेलका इन्जिन मर्मत गर्ने केन्द्र (वर्कसप) बनाइएको थियो। यो क्षेत्र पुग्ने जोकोहीको नाकमा एउटा विशिष्ट बास्ना ठोक्किन्छ। त्यो पनि ‘प्याजी’ को सदाबहार सुगन्ध। रेल चढेर आउने यात्री हुन् या सडकमार्गबाट आउने बटुवा, यहाँ पुग्नेहरू प्याजीको स्वाद नचाखी छाड्दैनन्।
सिंगो प्याजलाई कलात्मक रूपमा काटेर, त्यसभित्र मरमसला हालेर, बेसनमा चोपेर, तोरीको तेलमा तारेपछि मुखै रसाउने ‘प्याजी’ तयार हुन्छ। प्याजीमा हालिने विभिन्न मसलाको सुगन्धले यहाँ पुग्ने सबैलाई आकर्षित गर्छ।

बेच्नका लागि तयार गरिएको प्याजी।
खजुरीमा परम्परागत शैलीमा बनाइने प्याजीमा प्रयोग हुने मसला र पकाउने तरिका बेग्लै छ। यहाँ पाइने प्याजी बाहिर झुरुमझुरुम र भित्र नरम हुन्छ। प्याजबाटै बन्ने भएकाले यस परिकारको नाम ‘प्याजी’ बनेको हो।
उसो त मधेसका अधिकांश खाजा पसलमा प्याजी खान पाइन्छ। अन्यत्र पाइने प्याजीको तुलनामा खजुरीको प्याजीको स्वादै बेग्लै छ। एक पटक खजुरीको प्याजी खाएकाहरू पटक पटक खान आउँछन्। खजुरीमा प्याजी खाएकाहरूको अनुभव पनि उस्तै हुन्छ। यहाँको प्याजीमा भएको विशिष्टताले खजुरीको नाम र पहिचानसमेत जोडिएको छ। खजुरीमै रेल्वे स्टेसन पनि भएकाले यहाँको प्याजी व्यावसायिक रूपमा समेत अगाडि छ।

खजुरी रेल्वे स्टेसन र यात्रु।
खजुरी रेल्वे स्टेसननजिकै फुसको टहरामा जनकनन्दनी गाउँपालिका-४ का ५५ वर्षीय भोला साहको खाजा पसल छ। विभिन्न खाजाका साथै प्याजीसमेत पाइने उनको पसलमा पत्नी र छोराको पनि साथ छ। रेल आएसँगै पसलमा तयार गरिएका प्याजीलाई थालमा सजाउँदै उनी रेलका यात्रुतिर कुदछन्। खजुरीमा करिब १० मिनेट जति रेल रोकिन्छ। रेलका यात्रुलाई बेचेको प्याजीबाट उनले सबै खर्च कटाएर दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्म आम्दानी गर्छन्। भोलाले एउटा प्याजी २० रुपैयाँमा बेच्ने गरेका छन्।

खजुरी स्टेसनमा प्याजी बेच्दै भोला साह।
यहाँको प्याजीले स्वादसँगै रोजगारी दिएको छ। मधेसमा मुरहीसँगै प्याजी खाने गरिन्छ। खाजाका लागि यो प्रख्यात छ। भोलासँगै खजुरीमा १५ देखि २० जनाले प्याजीकै कारोबार गर्छन्। उनी भन्छन्‚ “बिहान प्याजलाई तयार गर्छु। रेल आउनु आधा घण्टाअगाडि तयारी प्याजी यात्रुलाई लगेर बेच्छु। आम्दानीको ठेगान हुँदैन, कहिले अलि धेरै बिक्छ भने कहिलेकाहीँ थोरै बिक्री हुन्छ।”
जनकनन्दनी गाउँपालिका-३ का शोभित साहले पनि प्याजी बेचेरै परिवार चलाएका छन्। रेल्वे स्टेसनमा उनको पसल त छैन। उनले घरबाटै प्याजी बनाएर ल्याउँछन् र रेलका यात्रुलाई बेच्ने गर्छन्। खजुरी स्टेसननजिकै ५५ वर्षीय मोहन यादवको पनि प्याजी पसल छ। रेल्वे निर्माणका क्रममा बन्द रहेको उनको पसल रेल चलेसँगै पुन: सञ्चालनमा आएको छ। मोहन र उनकी पत्नी बेचनीलाई प्याजी बनाउन दिनभर भ्याइनभ्याइ हुन्छ। कामको चाप बढेसँगै उनीहरूले एक नातेदारलाई पनि सहयोगीका रूपमा राखेका छन्। मोहनको परिवारको गुजारा पसलको कमाइबाटै चलेको छ। मोहनका बुबा बौकु यादव पनि खजुरी स्टेसनमा प्याजीकै पसल चलाउँथे।

रेल आएपछि प्याजी बेच्दै एक बालक।
२०४५/४६ सालतिर बौकुले खजुरी स्टेसनमा मुरही, कचरी पसल चलाएका थिए। त्यतिबेला स्टेसनमा आएर भारतका एक हलुवाईले पनि खाजा पसल थापे। उनैले प्याजी र दहीबरा बनाएर बेच्न थाले। ती भारतीय हलुवाईको देखासिकी गर्दै बौकुले पनि प्याजी बनाउन थाले। पछि बौकुको प्याजी पसल चर्चित बन्यो।
बौकुले बजारको मसला प्रयोग गर्दैनथे। प्याजीका लागि आवश्यक मसला आफैँ बनाउँथे। आफ्नै हातले बनाएको मसलाले स्वाद रैथाने बन्यो। योसँगै बौकुको प्याजीको चर्चा पनि सुरु भयो।
बौकुको परिकारको देखासिकीमै यहाँ अन्य खाजा पसलेहरूले पनि प्याजी बनाउन थाले। “त्यसबेला प्याजीको दाम ३५ पैसा मात्रै थियो। अहिले २० रुपैयाँ पुगेको छ‚” मोहनले सुनाए । अहिले खजुरी गाउँको पहिचान प्याजीमा परिणत बनेको छ। त्यसबेला बौकुको पसलसँगै यहाँ एक‚ दुई हुँदै खाजा पसलहरू थपिँदै गए। यहाँको प्याजीको स्वादले खजुरीको पहिचानसमेत बदलिदियो। बौकु बितिसकेका छन्। उनको पसल छोरा मोहनले सम्हालेका छन्।

प्याजी किन्दै ग्राहक।
खजुरीमा करिब २० वटा प्याजी पसल छन्। एउटामा तीनदेखि पाँच जनाले रोजगारी पाएका छन्। जनकपुर उपमहानगरपालिका-४ का विजयकुमार चौधरी भन्छन्‚ “जब म यो बाटो हिँड्छु, खजुरीमा नरोकिई जानै सक्दिनँ। यहाँको झुरुमझुरुम प्याजीको स्वाद अन्त कतै पाउँदिनँ।”
भारतको जयनगरबाट आउने यात्रीका लागि अहिले प्याजी अनिवार्य उपहार जस्तै बनेको छ। भोलाको दाबीअनुसार उनको प्याजी कोलकातासम्म पुगेको छ। उनी भन्छन्, “यहाँ काली मन्दिर छ। मन्दिर दर्शनका लागि कोलकाताबाट पनि भक्तजन आउँछन्। उनीहरूले खजुरीको प्याजीलाई उपहारकै रूपमा लैजाने गरेका छन्।”

खजुरी स्टेसनमा आएको नेपाली रेल।
यो मार्ग हुँदै यात्रा गर्ने अधिकांश यात्रु खजुरी स्टेसनमा बेचिने प्याजीका पारखी छन्। खजुरीको प्याजीमा पहिलाको जस्तो स्वाद नरहेको केहीको गुनासो छ। पहिला खजुरीको प्याजीको स्वाद चाखेकाहरू भन्छन्- अहिले त्यो स्वाद छैन। यसलाई पसलेहरूसमेत स्विकार्छन्। उनीहरूका अनुसार पहिले सिलौटोमा पिसेर मसलाहरू तयारी गरिन्थ्यो, अहिले मिक्सरमा मसला तयार गरिन्छ। खजुरीको प्याजीका पारखी श्यामसुन्दर यादव भन्छन्, “अहिले बेसन, तेल सबैमा मिसावट छ। तर, जे भए पनि खजुरीको प्याजीको जस्तो स्वाद अन्य ठाउँमा पाउन सकिँदैन।” यादवका अनुसार धनुषाको यो सानो बजार प्याजीको स्वादकै कारण चम्किएको छ।