npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

कांग्रेसले आगामी निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ : कोइराला

नेपालन्युज 13 hours ago

मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी २१ फागुनमा हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।

‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज, भोलि चुनौती अवसर र सम्भावना’ बारे युवासँग संवाद विषयक आज (आइतबार) विराटनगरमा आयोजित अन्तर्क्रियामा उनले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए।

कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोबल उठाउने कार्य गर्नुपर्ने सुझाए। “वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ‚” उनले भने।

सम्पूर्ण राजनीतिक दलका युवापुस्तालाई स्थानीय निकायमा ४०, प्रदेशमा ३० र संघमा २० प्रतिशत प्रतिनिधित्व गराएमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिता कायम हुनसक्ने उनको भनाइ छ। कोइरालाले सामुदायिक विद्यालयको शिक्षालाई अब्बल बनाउन शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने धारणा राखे। उनले विगतको सरकारले बजेट वितरणमा भेदभावका कारण विराटनगर महानगरपालिका अन्यभन्दा पछाडि परेको आरोप पनि लगाए।

Read more news from नेपाल न्युज

Explore by Source or Category