npl.977 Nepal News Stream

RONB post logo RONB post

साफ क्लब उपाधिको छिनोफानो आज, साफ क्षेत्रमा नयाँ इतिहास

RONB Post 1 day ago

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको आज फाइनल भिडन्त हुँदैछ।

उपाधिको छिनोफानो गर्न आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु फुटबलको पावरहाउस एपीएफ फुटबल क्लब र भारतीय क्लब इस्ट बंगाल आमनेसामने हुँदै छन् ।

जुन टोलीले जिते पनि नयाँ इतिहास लेखिनेछ। किनभने पहिलो पटक साफले महिला क्लब च्याम्पियन पाउनेछ। साफ क्षेत्रमा महिला फुटबल विकासमा यो एउटा कोशेढुंगा समेत सावित हुनेछ।

पाँच राष्ट्रका क्लबले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपको लिगमा शीर्ष दुई स्थानभित्र रहँदै यी दुईले फाइनल खेल्न लागेका हुन्।

दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुृक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताए । प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि सोहीअनुरूप तालिम गरिएको बताए ।

एपीएफकी कप्तान अनिता बस्नेतले भनिन्, “क्लबभन्दा पनि हामीले देशलाई नै प्रतिनिधित्व गरिरहेका छौँ, तयारी भइरहेको छ, इस्ट बङ्गालको सामना गर्न तयार छौँ ।”

इस्ट बङ्गालका प्रशिक्षक र कप्तानले पनि फाइनल खेलमा आफ्नो तर्फबाट उत्कृष्ट खेल हुने बताएका छन् । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लबहरू सहभागी थिए ।

यही मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता जनाएका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको साफ महिला क्लब च्याम्पियनशिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

लिग चरणमा एपीएफ र इस्ट बङ्गालले गोलरहित बराबरी खेलेका थिए । एपीएफले यसअघि पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो भने भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

The post साफ क्लब उपाधिको छिनोफानो आज, साफ क्षेत्रमा नयाँ इतिहास appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category