npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

पालिका ब्यूरो 1 week ago

बागलुङ – खेतीयोग्य बारी बाँझिँदै जान थालेपछि बागलुङ जिल्लामा हरेक वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती छोड्दै नगदे बालीतर्फ आकर्षित हुनु र कतिपय जमिन बाँझै रहनु उत्पादन घट्नुको मुख्य कारण बनेको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष बागलुङमा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको थियो भने यस वर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटनमा सीमित भएको छ । केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरका अनुसार गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती गरिएकोमा यस वर्ष आठ हजार ४५० हेक्टरमा मात्र खेती गरिएको छ ।

निमित्त प्रमुख पुनमगरले बर्सेनि कोदो उत्पादनमा कमी आइरहेको बताउँदै कोदोखेती गर्ने क्षेत्र घट्दा उत्पादनमा पनि गिरावट आएको उल्लेख गरे । पछिल्लो समय किसान कोदोखेती छोडेर कागती, सुन्तला, किबीलगायत नगदेबालीतर्फ आकर्षित भएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले किसानलाई रैथाने बाली तथा स्थानीय खेतीतर्फ आकर्षित गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । अहिले कोदोको माग बढेपछि बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको पनि केन्द्रले जनाएको छ ।

ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति अभाव हुँदा कोदोखेती घट्दै गएको स्थानीयवासी बताउँछन्। कुनै समय कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहरबजारका होटल तथा रेष्टुरेन्टमा लोकप्रिय बन्दै गएको छ । माग बढे पनि उत्पादन कम हुँदा आवश्यक परिमाणमा कोदो पाउन कठिन भइरहेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए ।

उहाँका अनुसार जाडोयाममा ढिँडो र अन्य समयमा कोदोकै सेलरोटीको माग बढ्दो छ। “पहिले कोदोको ढिँडो खानु हुँदैन भन्ने सोच थियो, अहिले त्यही ढिँडो सहरबजारमा खोजिन्छ,” थापामगरले भने ।

जैमिनी नगरपालिका–८ का स्थानीय श्यामबहादुर थापाका अनुसार गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फल्ने पाखोबारी बाँझिँदै गएका छन् । उनले एक दशकअघिसम्म गाउँमा कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गरिन्थ्यो भन्दै अहिले ती बारी बनमाराले ढाकिन थालेको स्मरण गरे ।

Read more news from PalikaNews

Explore by Source or Category