एमालेमा फेरि बढ्यो किचलो, ओली-पोखरेल समूहको एकअर्कालाई चेतावनी
काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन लगतै अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेल पक्षबीच विवाद बढ्न थालेको छ। दुवै समूह एक अर्कालाई रोक्ने तयारीमा छन्।
पुस २७, २८ र २९ गतेका लागि बोलाइएको दोस्रो केन्द्रीय कमिटीको बैठक अघि नै दुई पक्ष आमनेसामने हुन थालेका छन्। महाधिवेशन सकिएको दुई दिनमै शनिबार पोखरेल समूहले आफ्नो पक्षको भेला बोलाएको थियो।
उक्त भेलालाई पार्टीको अनुशासनको विषय बनाउनुपर्ने दबाब ओलीलाई उक्त समूहका नेताले दिन थालेको छन्। देशभर समानान्तर गतिविधि गर्ने तयारी पोखरेल समूहको छ। ओली समूहले पनि पोखरेललाई काउण्टर दिन मंगलबार ७७ जिल्ला कमिटीको भर्चुअल बैठक बोलाएको छ।
महासचिव शंकर पोखरेलले पार्टी कार्यालयबाट महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन्। समानान्तर गतिविधिमा नलाग्न पोखरेलले निर्देशन दिने तयारी छ। पोखरेल समूहले एमालेको एकता कमजोर हुनेखालका गतिविधि गर्न थालेको भन्दै ओली समूह सशंकित छ।
महाधिवेशनअघि सम्म समानान्तर गतिविधि गर्न सामान्य विषय भए पनि लोकतान्त्रिक अभ्यास गरेर निर्वाचित नेतृत्वलाई कमजोर बनाउने गतिविधि सामान्य नहुने बुझाइ ओली समूहले राखेको छ।
आफ्ना समूहका गतिविधिप्रति ओली समूहले चर्को असन्तुष्टि जनाएपछि तथा केन्द्रीय कमिटीको दोस्रो बैठकमा अनुशासनको विषय बनाउने ओलीले तयारी गरेपछि पोखरेलले पनि आफ्ना गतिविधिप्रति कडाइ गर्न खोजिए अनेपेक्षित नतिजा ब्यहुर्नुपर्ने चेतावनी ओलीलाई दिएका छन्।
‘नेतृत्वबाट सबैले आत्मसमर्पण होइन समान र सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन्। तरंगित हुने सबैले बुझ्नैपर्छ, त्यस्तो हुन नसक्दा अप्रिय परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला,’ पोखरेलले भनेका छन्।
एमालेले दोस्रो केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी, पोलिटब्यूरो गठन हुनेछ भने नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ। जिम्मेवारी बाँडफाँट र कमिटीहरु गठन तथा केन्द्रीय समितिमा हुने मनोनयनबारे पनि एमालेमा विवाद छ।
The post एमालेमा फेरि बढ्यो किचलो, ओली-पोखरेल समूहको एकअर्कालाई चेतावनी appeared first on BIZMANDU.