npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

वडा–वडामा अस्पतालसरह स्वास्थ्य सेवा विस्तार गर्दै काठमाडौँ महानगर

पालिका ब्यूरो 1 day ago

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पूर्वाधार र मानव पुँजी विकासको कामलाई तीव्रता दिएको छ । महानगरले ३२ वटै वडामा अस्पतालसरहको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार वडा तहका स्वास्थ्य संस्थालाई सबल बनाउन दुई चरणमा प्राविधिक जनशक्तिको तालिम सञ्चालन गरिएको छ । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका स्वास्थ्य प्राविधिकलाई प्रशिक्षण दिइसकिएको उनले जानकारी दिए ।

तालिममा जनस्वास्थ्य गुणस्तरसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, बिरामीबाट नमूना सङ्कलन गर्ने विधि, सम्भावित त्रुटि र जोखिम व्यवस्थापन, गुणस्तर नियन्त्रण प्रक्रिया, क्षयरोगको नमूना सङ्कलन र परीक्षण, प्रयोगशालाको स्वच्छता, हानिकारक फोहर व्यवस्थापन तथा जनशक्तिबीचको सहकार्यजस्ता विषयमा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको छ ।

हाल महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिँदै आएको छ । प्रत्येक वडामा स्थापना गरिएका स्वास्थ्य प्रयोगशालाबाट मधुमेहसहित रगत परीक्षण, मिर्गौला तथा पिसाब परीक्षण, खकारबाट क्षयरोगको जाँचलगायत आधारभूत स्वास्थ्य परीक्षण सेवा प्रदान हुँदै आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदीका अनुसार ‘डी’ र ‘ई’ समूहका प्रयोगशाला सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । “काठमाडौँ महानगरपालिकाका प्रयोगशालाको गुणस्तर कायम गर्न र जनशक्तिको क्षमता अभिवृद्धि गर्न हामी सहकार्यका लागि तत्पर छौँ,” उनले भने ।

‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३’ अनुसार सरकारी हेल्थपोष्टमा आधारित प्रयोगशाला ‘ई’ समूहमा र प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला ‘डी’ समूहमा पर्दछन् ।

कामपाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज तथा ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार आन्तरिक गुणस्तर नियन्त्रण प्रणाली र बाह्य प्रयोगशालासँगको सहकार्यमार्फत परीक्षण नतिजालाई अझै स्तरीय बनाउने प्रयास भइरहेको छ ।

महानगरपालिकाले प्रयोगशाला विज्ञान र प्रविधिमा तीव्र परिवर्तन भइरहेकाले प्राविधिक जनशक्तिलाई निरन्तर तालिम, स्पष्ट सेवा मापदण्ड र वैज्ञानिक कार्यप्रणालीअनुसार सेवा सञ्चालन गर्न जोड दिएको जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category