PalikaNews
ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने वैकल्पिक सडक म्याग्दीका उम्मेदवारको प्रमुख चुनावी मुद्दा
म्याग्दी, – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनबाट पूर्वी रुकुम जोड्ने वैकल्पिक सडक निर्माणलाई प्रमुख चुनावी मुद्दाका रूपमा अघि सारेका छन् ।
बेनी–घतान–पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ–मराङ–बिम–दरबाङ हुँदै पुनः बेनीसम्म पाँच स्थानीय तह समेट्ने राहुघाट–म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधार प्राथमिकतामा परेको छ ।
जिल्ला सदरमुकाम बेनीबाट रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति गर्ने अघिल्ला चुनावी प्रतिबद्धता कार्यान्वयन भइसकेको भन्दै राजनीतिक दलहरूले अब राहुघाट–म्याग्दी चक्रपथ र ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग निर्माणलाई चुनावी एजेन्डा बनाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार अर्जुन थापाले म्याग्दी भएर ढोरपाटन हुँदै पूर्वी रुकुम पुग्ने सडक बागलुङ खण्डको तुलनामा ६५–७० किलोमिटर छोटो पर्ने बताउँदै वैकल्पिक मार्ग निर्माण भए पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो परिवर्तन आउने दाबी गरे ।
नेपाली कांग्रेस का उम्मेदवार कर्णबहादुर भण्डारीले बेनी–जोमसोम–कोरला सडक सहज भएसँगै मुस्ताङ जाने वार्षिक आठ लाखभन्दा बढी पर्यटकबाट जिल्लाले लाभ लिन थालेको उल्लेख गर्दै पश्चिम म्याग्दी र राहुघाट क्षेत्रमा सडक पूर्वाधार सुधार भए बसाइँसराइ रोक्न, रोजगारी सिर्जना गर्न र आयआर्जन बढाउन सहयोग पुग्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले रणनीतिक महत्वका सडक योजनालाई नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा प्राथमिकता दिने बताए ।
बेनीबाट करिब ७५ किलोमिटर दूरीमा ढोरपाटन पुगिने यो मार्ग पश्चिम म्याग्दीको समग्र पूर्वाधार, आर्थिक र सामाजिक विकासका लागि ‘लाइफलाइन’ मानिएको छ । हाल बागलुङ हुँदै ढोरपाटन पुग्ने सडक दूरी १२६ किलोमिटर छ। बेनी–मुना–खोरिया–मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडक मार्ग यसै वर्ष खुलेको हो भने पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडक अझै जोडिन बाँकी छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घ का अध्यक्ष सुवीन श्रेष्ठले मुना–ढोरपाटन खण्ड स्तरोन्नति र ढोरपाटन–पूर्वी रुकुम सडक विस्तार म्याग्दीको साझा मुद्दा बनेको बताए ।
प्रदेश सरकारले दरबाङ–ताकम–मुना करिब १७ किलोमिटर सडक स्तरोन्नतिका लागि योजना सञ्चालन गरिरहेको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा लिइएको यो सडकको स्तरोन्नति, कालोपत्र र बजेट व्यवस्थापनलाई उम्मेदवारले साझा चुनावी एजेन्डा बनाएका छन् ।
पूर्वी रुकुम, म्याग्दी र बागलुङमा फैलिएको करिब १ हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको ढोरपाटन सिकार आरक्ष नेपालको एकमात्र सिकार आरक्ष हो । साहसिक सिकार पर्यटनका लागि विश्वभर चर्चित यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा समेत पर्दै आएको छ। पर्यटन, जैविक विविधता, सांस्कृतिक र धार्मिक सम्भावनाले भरिएको ढोरपाटनलाई जोड्ने सडक विस्तारले क्षेत्रीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।