न्यु होराइजन फाइनलमा
सुमन अधिकारी, बुटवल
न्यु होराइजन क्रिकेट एकेडेमी रुपन्देहीमा जारी सातौ यु–१९ खड्ग प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा बिहीवार वेस्टर्न क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै न्यु होराइजन उपाधि नजिक पुगेको हो।
न्यु होराइजनले सिसिई काठमाण्डौ र तिलोत्तमा क्रिकेट एकेडेमीबीचको विजेतासँग फाइनल खेल्नेछ । एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा टस जितेर न्यु होराइजनले ब्याटिङको निम्तो दिएपछि वेस्टर्नले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४६ रनको बनायो ।
वेस्टर्नका रौनक श्रीवास्तवले अर्धशतकीय इनिङ खेले । उनले ९९ बलमा ६६ रन बनाए । यसैगरि असफाक खानले १ सय ५ बलमा ४१ रन जोडे । न्यु होराइजनका सुरज खड्काले ४ तथा सुभम खनालले ३ विकेट लिए।
१ सय ४७ रनको लक्ष्य पछ्याएको न्यु होराइजनले २९.३ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गर्यो । न्यु होराइजनको जितमा दर्श सुनारले अर्धशतकिय इनिङ खेले । उनले ५७ बलमा ७३ रन र संगम पाण्डेले ३८ बलमा २१ रन बनाए । न्यु होराइजनका दर्श सुनार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा प्रतियोगिता आयोजना गरेका हुन्।
The post न्यु होराइजन फाइनलमा first appeared on हाम्रो खेलकुद.