टी–२० विश्वकपः ओमानसँग प्रतिष्ठाको लडाइँ गर्दै अस्ट्रेलिया
काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दैछन् । श्रीलंकाको पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल दुवै टाेलीका लागि प्रतिष्ठा लडाइँ मात्रै हुनेछ ।
प्रतियोगिताको दाबेदार मानिएको अस्ट्रेलिया यस पटक समूह चरणबाटै बाहिरिएर स्तब्ध बनेको छ। जिम्बाब्वे र आयोजक श्रीलंकासँगको अप्रत्याशित हारपछि अस्ट्रेलियाको सुपर-८ को यात्रा समाप्त भएको हो। गत मंगलबार जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भई अंक बाँडिएपछि अस्ट्रेलिया औपचारिक रूपमा प्रतियोगिताबाट बाहिरिएको थियो।
सुपर-८ मा पुग्न असफल भए पनि अस्ट्रेलिया आजको खेल जितेर सुखद अन्त्य गर्ने दबाबमा छ। यता समूह ‘बी’ मा अंकविहीन रहेको ओमानका कप्तान जतिन्दर सिंहले फर्ममा नरहेको अस्ट्रेलियालाई हराएर इतिहास रच्ने लक्ष्य राखेका छन्।
अस्ट्रेलिया टी-२० विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिएको यो दोस्रो पटक मात्र हो। यसअघि सन् २००९ मा पनि अस्ट्रेलिया लिग चरणबाटै घर फर्किएको थियो।
समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वेले यसअघि नै सुपर-८ मा स्थान सुरक्षित गरिसकेका छन्। अस्ट्रेलियाको ३ खेलमा मात्र २ अंक छ भने ओमानको खाता अझै खुल्न सकेको छैन।