कांग्रेसको मुद्दा सकिएन, शुक्रबार सुनुवाई
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस नसकिएका कारण हेर्दाहेर्दैमा राख्दै शुक्रबारका लागि सुनुवाई तोकेको छ।
न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बिहिबार बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखेको हो ।
यस अघि रिट निवेदनमा संवैधानिक र कानुनी प्रश्न निरुपण गर्नुपर्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको थियो। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाईपछि निर्वाचन आयोग र गगन थापालगायतलाई छलफलमा बोलाउँदै संविधान, कानुन, नेपाली कांग्रेसको विधानलगायतका विषयमा र निर्वाचन आयोगको निर्णयबारे पछि निर्णय गर्नेगरी आदेश गरेको थियो।
कांग्रेसभित्रको विवादका कारण विशेष महाधिवेशन गरी कांग्रेस सभापतिमा गगन थापालाई सभापतिमा छनोट गरिएको थियो।
त्यसपछि निर्वाचन आयोगले कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे भन्ण्डा विशेष महाधिवेशन पक्षधरलाई दिएको थियो।
त्यसविरुद्ध यस अघिका सभापति शेरबहादुर देउवाले आफूहरु आधिकारिक रहेको दाबीसहित ५ माघमा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।