npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

रामअशिष यादव बने मधेस प्रदेशको सभामुख

नेपालन्युज 8 hours ago

जनकपुर। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्।

प्रदेश सभामा मत विभाजन एवं हस्ताक्षरमार्फत आइतबार भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको छ। प्रदेश सभामा ९६ सांसद उपस्थिति थिए। यादव निर्वाचित भएको सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन्।

यादवलाई सत्ता साझेदार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले मत दिएका छन्।

यादव धनुषा क्षेत्र नम्बर २ (ख) बाट दोस्रोपटक निर्वाचित सांसद हुन्। विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदले मतदान गरे।

नेकपा एमालेबाट सभामुखमा त्रिलोकी प्रसाद उम्मेदवार थिए। उम्मेदवारी दर्ता भएको पहिलो प्रस्तावमा बहुमत पुगेको कारणले दोस्रो प्रस्तावमाथि छलफल र मतदान भएन। रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको भन्दै पदबाट हटाइएपछि मधेसमा सभामुख पद रिक्त थियो।

१०७ सदस्यीय मधेस प्रदेशसभामा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ (एक निलम्बित), जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका सात र नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना सांसद छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category