npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

पालिका ब्यूरो 3 days ago

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ स्थित पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित धम्पुसमा बनेको उक्त उद्यानले पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आराम गर्दै हिमशृङ्खला र आसपासको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

उद्यानमा धम्पुस–ब्रेकन भगिनी सम्बन्धको स्मारक स्थापना गरिएको छ। ढुङ्गाले निर्माण गरिएको स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको उद्यानबाट उत्तरतर्फ देखिने हिमशृङ्खलासँगै हेमजा र पोखरा बजारको दृश्य अवलोकन गर्न सकिन्छ ।

उद्यान निर्माण धम्पुस समाज युके को लगानी र अग्रसरतामा सम्पन्न भएको हो । समाजका संरक्षक मेजर खुशीमान गुरुङका अनुसार उद्यान निर्माणका लागि समाजले रु २६ लाख सहयोग गरेको छ भने स्थानीय सरकार र व्यक्तिगत सहयोगसमेत गरी करिब रु ४० लाख खर्च भएको छ । “धम्पुस आफैँमा पर्यटकीय गाउँ हो, यहाँ आउने पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने उद्देश्यले पार्क निर्माण गरेका हौँ,” उनले भने, ।

धम्पुस र बेलायतको ब्रेकन सहरबीच भगिनी सम्बन्ध स्थापना भएको सात वर्ष पुगेको अवसरमा उद्यान औपचारिक रूपमा उद्घाटन गरिएको हो। धम्पुसबाट नजिकै देखिने अन्नपूर्णलगायत हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले उद्यान निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको बताउनुभयो। “यसले ग्रामीण पर्यटन प्रवद्र्धनका साथै धम्पुस र ब्रेकनबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेछ,” उनले भने, ।

पोखराबाट करिब २० किलोमिटर दूरीमा रहेको धम्पुस, पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत घट्टेखोलाबाट पुग्न सकिन्छ। धम्पुस विश्वप्रसिद्ध मर्दी हिमाल पदमार्ग को प्रवेशद्वारसमेत भएकाले यहाँबाट वार्षिक हजारौँ पर्यटक पदयात्रामा जाने गर्दछन्। ग्रामीण पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा धम्पुसको पहिचान थप सुदृढ हुने अपेक्षा गरिएको छ।

Read more news from PalikaNews

Explore by Source or Category