लुम्बिनीमा एमसीसी सडक विवाद चर्कियो, रोक लगाईयो सरकारी गाडी राजधानी ठप्प
काठमाडौं । धानखोला–लमही सडक चार लेन बनाउनुपर्ने माग गर्दै स्थानीयले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोकेका छन्। आन्दोलनका कारण प्रदेश राजधानी क्षेत्रको सरकारी कामकाज प्रभावित हुन थालेको छ।
एमसीसी परियोजनाअन्तर्गत एमसीए नेपालले सडकलाई दुई लेनमै स्तरोन्नति गर्न खोजेपछि स्थानीय असन्तुष्ट बनेका हुन्। संघर्ष समितिका संयोजक प्रकाश शाहीले माग पूरा नभएसम्म पुस ७ गतेदेखि महिनाभर राजधानी क्षेत्रमा सरकारी सवारी साधन चल्न नदिइने बताए।
शाहीको नेतृत्वमा युवाहरू प्रदेश राजधानी गेट र राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्रको मुख्य प्रवेशद्वारमा भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरूका अनुसार साविक ७ मिटरको सडकलाई १२ मिटरमा सीमित गरेर फेरि दुई लेनमै राख्ने योजना दीर्घकालीन रूपमा उपयुक्त छैन।
स्थानीयले देउखुरी क्षेत्रको विकासका लागि चार लेन सडक आवश्यक भएको बताउँदै एमसीसीको वर्तमान डिजाइनले भविष्यको समस्या बढाउने दाबी गरेका छन्। यसअघि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट संघर्ष समितिसहित काठमाडौं पुगेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएका थिए।
तर मन्त्री घिसिङले एमसीसी परियोजनाअनुसार नै काम हुने र स्थानीय मागअनुसार परिवर्तन सम्भव नहुने बताएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्।