npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

निर्वाचन प्रक्रिया रोक्न एन्फालाई निर्वाचन आयोगको निर्देशन

Prakash Timalsina 2 days ago

काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ।

आयोगले माघ ४ गतेको निर्णयअनुसार निर्वाचन आचारसंहिता, २०८२ लागू भइरहेकोले आजका मितिदेखिका निर्वाचन कार्यक्रमका सबै स्थगित गर्न निर्देशन दिएको हो।

निर्वाचन सम्बन्धी मुद्दाको किनारा लगाउने क्रम उच्च अदालत पाटनले माघ २७ गते त्यसअघिको अन्तरिम आदेश खारेज गरेसँगै एन्फाको निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसकै आधारमा सि डिभिजन क्लबको केही दिनअघि तथा बी डिभिजन क्लब, कोशी र गण्डकी प्रदेशको प्रतिनिधि चयन गरिएको थियो।

आयोगले निर्देशनको कार्यान्वयन प्रक्रिया जानकारी छिट्टै आयोगलाई गराउन पनि भनेको छ। अन्यथा निर्वाचन आचारसंहिता, २०८२ अनुसार कारबाही गरिने चेतावनी आयोगका कानून अधिकृत मोहनराज जोशीले बुधवार (फागुन ६) जारी गरेको पत्रमा उल्लेख गरिएको छ।

आयोगले माघ ८ गते पठाएको पत्रको जवाफमा एन्फाले माघ १३ गते निर्वाचन गतिविधि स्थगित गरिएको जानकारी गराएको थियो। एन्फाले अदालतमा विचाराधीन प्रक्रियाको अवस्था स्पष्ट भएपछि मात्रै नयाँ साधारण सभा र निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने पनि जनाएको थियो।

साथै, निर्वाचन गैरराजनीतिक रूपमा र निर्वाचन आयोगको आचारसंहिता पालना गर्दै सम्पन्न गरिने उल्लेख गरेको जनाएको छ।

यसअघि एन्फाले माघ ६ गते जारी गरेको सूचनामा पनि निर्वाचनसम्बन्धी कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको थियो।

निर्वाचन समितिले निर्वाचन प्रक्रिया पुनः अघि बढाएपछि एन्फा केन्द्रीय सदस्य रुपेश अधिकारीले निर्वाचन रोक्नका लागि फागुन ५ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यहि निवेदनका आधारमा आयोगले एन्फालाई आज निर्वाचन रोक्न पत्रचार गरेको हो।

‘एन्फाको निर्वाचनले दीर्घकालीन प्रभाव पार्ने भएकाले तहगत निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्न दिएको सल्लाह नमानेपछि बाध्यतावश हामीले विभिन्न निकायमा निर्वाचन रोक्न अनुरोध गरेका हौ,’ अधिकारीले भने,’आचारसंहिता लागू भएको अवस्थामा निर्वाचन गर्न नमिल्ने आयोगले प्रस्ट पारेको छ। सबै प्रक्रिया पूरा गरेर हुने निर्वाचनबाट जो आएपनि त्यसलाई स्वीकार गर्ने हो । तर नेतृत्वले आफ्नो सहजता हेरेर निर्णय गर्दा त्यसले भविष्यका‌ लागि पनि नजिर बन्नेछ । त्यस्तो स्थिति नबनोस् भन्ने हाम्रो स्पष्ट धारणा हो।’

आयोगको पत्र पछि एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन पुनः प्रभावित हुने देखिएको छ।
माघ ३ गतेकै मनोनयन दर्ताका आधारमा एन्फा निर्वाचन गर्ने गरि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। जसमा फागुन २७ गते साधारण सभा तथा निर्वाचन गर्ने उल्लेख छ।

केन्द्रीय कार्यसमितिको अध्यक्षका लागि वर्तमान एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले मनोनयन दर्ता गरेका छन्।
१ वरिष्ठ उपाध्यक्षका‌ २ , ४ उपाध्यक्षका लागि १० र १५ केन्द्रीय सदस्यका लागि ३० भन्दा बढीले मनोनयन दर्ता गराएका छन्।

The post निर्वाचन प्रक्रिया रोक्न एन्फालाई निर्वाचन आयोगको निर्देशन first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category