npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सहरी सुव्यवस्थामा प्रविधिको प्रयोग

नेपालन्युज 5 hours ago

काठमाडौँ। सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीचको सम्बन्ध थप बलियो बनाइने भएको छ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटमा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल भएको छ। साथै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले भनिन्, “सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्द्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियानलगायत काममा हामी प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ‚” उनले भनिन्‚ “महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ। यसबाट नागरिकले महसुस गर्ने परिवर्तन प्राप्त गर्नुहुनेछ।”

त्यस क्रममा प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको प्रतिबद्धता जनाए। “उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ। यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ‚” उनले भने, “सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ।”

छलफलका क्रममा लागुऔषध दुर्व्यवसन नियन्त्रण, सार्वजनिक स्थलमा धूमपान र मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र बिहानी बस सेवाको सुरक्षा, सडकमानवमुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो।

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहित महानगरपालिकाका अधिकारी र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधि सहभागी थिए।

Read more news from नेपाल न्युज

Explore by Source or Category