npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

झापा ११ विराट गोल्डकपको फाइनलमा

Prakash Timalsina 1 day ago

विराटनगर (हाम्रो खेलकुद)- विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्व‌ विजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो ।

झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६७ औं मिनेटमा ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारमा गोल भएपछि झापाको जित सुनिश्चित भएको थियो ।

यो जितसँगै झापाले १० वर्षअघिको बदला समेत लिएको छ । २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १–० ले नै हराउँदै उपाधि जितेको थियो ।

१० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो । खेलको प्यलेर अफ द म्याद झापा ११ का स्वलोमन किङ घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।

खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकियो । सुरुवाती समयमा पुलिसले झापालाई दबाबमा राखे पनि आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न सकेन ।

१८ औं मिनेटमा पुलिसका सञ्जीव लामाको प्रहार बाहिरियो भने लगत्तै प्रज्वल चौधरीको प्रहारले पनि दिशा लिन सकेन । २८ औं मिनेटमा सञ्जीव लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर फर्कियो । ४० औं मिनेटमा धीरेन्द्र शाहको प्रहार पनि विफल हुँदा पुलिस अग्रता लिनबाट चुक्यो ।

झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोटर्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोटर्सले भारतको बिरसामुण्डा स्पोटर्स एकेडेमीलाई ३-१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

The post झापा ११ विराट गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category