npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

१० लाख बजेटमा धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

इन्द्र कमल रोक्का 5 hours ago

म्याग्दी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण सुरु गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनका अनुसार फागुन पहिलो सातासम्म गरेदेखि गुन्थली भिर, देउराली डाँडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भ¥याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण गरिएको छ ।

प्राविधिक नक्साअनुसार तीन किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको र थप एक किलोमिटर निर्माण भइरहेको उनले बताए । दोवाका करिब २० जना स्थानीय पदमार्ग निर्माणका लागि निर्माणस्थलमै बसेर काम गरिरहेका छन् । बस्तीबाट टाढा भएकाले उनीहरूले निर्माणस्थलमै त्रिपालको अस्थायी बास बनाएर काम गरिरहेका छन् ।

चालु आर्थिक वर्षको बजेटबाट खोलाखर्कसम्म पदमार्ग जोडिने उपभोक्ता समितिले जनाएको छ । विगतमा दोवाका स्थानीयले घुम्ती पशुगोठ लेक–बेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटोलाई पहिचान गरी पदमार्गका रूपमा विकास गर्न लागिएको वडा अध्यक्ष दिलिप गर्बुजाले बताए ।

बेनी–जोमसोम सडक निर्माणपछि करिब १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेतेसम्म पुग्छ । मुख्य पदमार्गमा नजिकका बस्तीबाट जोड्ने सहायक पदमार्ग निर्माणको काम पनि भइरहेको छ ।

दोवामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइसफललाई पदमार्गसँग जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताए ।

Read more news from Kendrabindu

Explore by Source or Category