प्रसिद्ध गायिका आशा भोसले अस्पताल भर्ना
काठमाडौँ । थुप्रै नेपाली गीतमा समेत स्वर दिएकी हिन्दी सिनेमाकी दिग्गज गायिका आशा भोसले बिरामी परेपछि अस्पताल भर्ना भएकी छिन्। शनिबार उनलाई हृदयघात भएको र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हल्ला चले पनि उनकी नातिनी जनाई भोसलेले ती खबरहरू गलत भएको स्पष्ट पारेकी छिन्।
जनाईका अनुसार ९२ वर्षीया आशा भोसलेलाई कार्डियाक एरेस्ट भएको नभई अत्यधिक थकान र छातीमा सङ्क्रमण देखिएकाले अस्पताल भर्ना गरिएको हो। “हजुरआमा थकान र छातीको संक्रमणका कारण अस्पतालमा हुनुहुन्छ। उनको उपचार भइरहेको छ र उनी छिट्टै निको भएर घर फर्कनुहुनेछ” जनाईले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। उनले यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गरिदिन समेत आग्रह गरेकी छिन्।
८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी भोसलेले ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ‘चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।
आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
उनले २० भन्दा बढी भारतीय र विदेशी भाषाहरूमा १२ हजार भन्दा बढी गीत गाएकी छिन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।