ट्रम्पको पहलमा लेबनानमा युद्धविराम
जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले इजरायली नागरिकमा संशय र असन्तुष्टि पैदा गरेको छ ।
युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायलको उत्तरी क्षेत्रमा लेबनानबाट रकेट प्रहार जारी रहँदा सीमावर्ती क्षेत्रका बासिन्दाले सरकारी कदमप्रति प्रश्न उठाएका हुन् ।
बिहीबार साँझ इजरायलको उत्तरी सहर नहारियाको आकाशमा लेबनानी रकेट र इजरायली प्रतिरक्षा प्रणालीबीचको भिडन्तका कारण शृङ्खलाबद्ध विष्फोटहरू भएका थिए । युद्धविरामको सँघारमा भएको उक्त आक्रमणमा छर्रा लागेर तीन इजरायली घाइते भएका छन् ।
स्थलगत रूपमा बुझ्दा इजरायली जनतामा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले किन यो सम्झौता स्वीकार गरे भन्नेमा व्यापक असन्तुष्टि देखिन्छ । “सरकारले हामीलाई धोका दिएको महसुस भएको छ,” स्थानीय विद्यार्थी गालले भने, “यस पटक समस्याको दीर्घकालीन समाधान हुने आश्वासन दिइएको थियो, तर फेरि केही उपलब्धि नहुने पुरानै शैलीको सम्झौता दोहोरिएको छ ।”
हेजबुल्लाहलाई पूर्ण रूपमा निशस्त्रीकरण नगरी युद्ध रोकिनु इजरायलका लागि प्रत्युत्पादक हुने बुझाइ धेरैको छ । ३२ वर्षीय ट्रक चालक माओरका अनुसार लेबनान सरकारले यसअघिका सम्झौताहरू पालना नगरेको पृष्ठभूमिमा अहिलेको युद्धविरामले सुरक्षाको प्रत्याभूति दिँदैन । “सेनाले महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेका बेला अचानक युद्ध रोकिनु दुर्भाग्यपूर्ण हो,” उनले भने ।
दक्षिण लेबनानमा इजरायली सेनाका पाँचवटा डिभिजन परिचालित छन् । सैन्य प्रवक्ताले अघिल्लो दिन मात्रै सेना अझै अगाडि बढ्ने बताए पनि ट्रम्पको कूटनीतिक दबाबपछि इजरायल पछि हट्न बाध्य भएको विश्लेषण गरिएको छ ।