npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

‘कोहलपुर माइल’ दौड असारमा हुने

Prakash Timalsina 12 hours ago

नेपालगन्ज (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय अभियान ‘वन ग्लोबल माइल’ अन्तर्गत नेपालमा असार २७ गते (जुलाई ११) ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ।

विश्वभर प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यस अभियानले दौड संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

‘एक माइल, एक दिन, एक विश्व’ नारासहित यस वर्ष पनि विश्वका दर्जनभन्दा बढी देशमा एकै दिन १ माइल (१.६०९ किलोमिटर) दूरीको दौड आयोजना गरिँदैछ। यही अभियानअन्तर्गत नेपालमा कोहलपुर माइल आयोजना हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए।

गुरुङका अनुसार करिब डेढ किलोमिटरको रोड रेस भएकाले सबै उमेर समूहका सहभागीलाई सहज रूपमा भाग लिन सकिनेछ। रेस नेपालद्वारा आयोजना गरिने यस दौडको व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्नेछ।

अमेरिकाको न्यूयोर्कस्थित ‘हड्सन माइल’ विस्तार हुँदै ‘वन ग्लोबल माइल’ अभियानका रूपमा विकसित भएको हो। विश्व रनिङ समुदायको संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले यस अभियानको आधिकारिक प्रवर्द्धन गरिरहेको बताइएको छ।

वन ग्लोबल माइललाई विश्वव्यापी बनाउने अभियानमा हड्सन माइलका सहसंस्थापक तथा रन बंग्लाका सीईओ जोन बोका र एम्स दूत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीको महत्वपूर्ण भूमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए।

कोहलपुर माइल नेपालगन्ज म्याराथन सिरिजअन्तर्गतको अर्को प्रतियोगिता पनि हुनेछ। यस सिरिजमा नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन र राप्ती सोनारी नेचर रनजस्ता दौड प्रतियोगिताहरू यसअघि नै सञ्चालन भइसकेका छन्।

एम्स दूत टीएस ठकुरीका अनुसार ‘वन ग्लोबल माइल’ मा सहभागी हुन एम्ससँग आबद्धता अनिवार्य रहनेछ।

The post ‘कोहलपुर माइल’ दौड असारमा हुने first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category