npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

उच्च शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्ने प्रधानमन्त्रीको भनाइ, ‘प्रमाणपत्र दिने काम मात्र नहोस्’

Basudev Timalsina 6 hours ago

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताएकी छन्।

उनले शुक्रबार पोखरा विश्वविद्यालयको २१औं दीक्षान्त समारोहमा आर्थिक समृद्धिसँग नजोडिएको पाठ्यक्रम सन्दर्भहीन बन्ने बताइन्।

‘हाम्रा विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्छ। आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जान्छ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले प्रदान गर्ने शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित नरही समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्ने बताइन्।

उनले विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ युवाहरु ठूलो संख्यामा विदेशतर्फ आकर्षित हुनु चिन्ताको विषय भएको बताइन्।

‘सक्षम र ऊर्जाशील जनशक्तिले आफ्नै मुलुकभित्र सम्भावना र अवसर किन सिर्जना गर्न नसकेको हो? नेपालमा सम्भावना नभएकै कारण युवाहरू विदेश भौँतारिरहेका हुन् त?,’ उनले प्रश्न गर्दै भनिन्, ‘यसको कारण र समाधान पनि हामीले नै खोज्नुपर्छ, जसको जिम्मेवारी विश्वविद्यालयहरुको पनि हो।’

प्रधानमन्त्री कार्कीले पाठ्यक्रम, पठन पद्धति र समग्र शिक्षा प्रणालीमा सुधारको आवश्यकता औंल्याइन्। ‘हाम्रा विश्वविद्यालयले उद्यमशीलता, नवप्रवर्तन र स्वदेशमै अवसर सिर्जना गर्ने आत्मविश्वास जगाइरहेका छन् कि छैनन्?,’ उनले भनिन्, ‘विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विज्ञ-विशेषज्ञ सबैले गम्भीर चिन्तन गर्नुपर्ने आवश्यकता म देख्दछु।’

The post उच्च शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्ने प्रधानमन्त्रीको भनाइ, ‘प्रमाणपत्र दिने काम मात्र नहोस्’ appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category