npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

राजीनामापछि पनि स्वालवेलको संकट टरेन: एकपछि अर्को महिलाले लगाए बलात्कारको आरोप

भवानी प्रसाद पाण्डे 1 day ago

अमेरिकाका पूर्व डेमोक्र्याटिक सांसद एरिक स्वालवेलमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरूको सङ्ख्या थपिँदै गएको छ। पछिल्लो पटक अर्की एक महिलाले उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छन्।

लोना ड्रुएस नाम गरेकी ती महिलाका अनुसार सन् २०१८ मा स्वालवेलले आफूलाई नसालु पदार्थ खुवाएर होटलको कोठामा बलात्कार गरेका थिए। स्वालवेलको “राजनीतिक शक्ति” का कारण आफूले पहिले सार्वजनिक रूपमा बोल्न हिचकिचाएको उनले बताइन्।

ड्रुएसका अनुसार सन् २०१८ मा बेभर्ली हिल्समा मोडलका रूपमा काम गर्दा स्वालवेलसँग उनको भेट भएको थियो। तेस्रो भेटका क्रममा स्वालवेलले होटलको कोठामा लगेर आफ्नो घाँटी थिच्दै बलात्कार गरेको उनले आरोप लगाएकी छन्। उनले आफूले केवल एक गिलास वाइन पिए पनि कोठामा पुग्दा शरीर चलाउन नसकेको र आफूलाई कुनै औषधि दिइएको हुन सक्ने आशङ्का व्यक्त गरिन्।

उनले भनिन्, “उनले घाँटी थिच्दा म बेहोस भएँ र म मरेँ जस्तो लाग्यो। मैले कुनै पनि यौन गतिविधिमा सहमति दिएकी थिइनँ।” उनले त्यतिबेला चिकित्सकीय परीक्षण नगराए पनि आफ्ना नजिकका साथीहरूलाई यसबारे जानकारी दिएको बताएकी छन्।

उनको पक्षबाट वकालत गरिरहेकी वकिल ब्लूमले लस एन्जलस प्रहरी विभागमा उजुरी दर्ता गर्ने तयारी भइरहेको जानकारी दिइन्। साथै, अन्य तीन महिलाले पनि स्वालवेलविरुद्ध यस्तै आरोपसहित सम्पर्क गरेको उनले बताइन्।

गत हप्ता मात्र चार महिलाले स्वालवेलमाथि यौन दुर्व्यवहारदेखि बलात्कारसम्मका आरोप लगाएका थिए, जसका कारण संसदीय आचार समितिले अनुसन्धान सुरु गरिसकेको छ। यद्यपि, स्वालवेलले यी सबै आरोपहरू अस्वीकार गरेका छन्। आरोपहरू सार्वजनिक भएपछि उनले कंग्रेसबाट राजीनामा दिइसकेका छन् भने क्यालिफोर्नियाको गभर्नर पदको दौडबाट पनि पछि हटेका छन्।

उनका वकिल सारा अजारिले यी आरोपहरूलाई “झुटा, बनावटी र अत्यन्त आपत्तिजनक” भन्दै यो राजनीतिक रूपमा प्रेरित आक्रमण भएको दाबी गरेकी छन्।

यसैबीच, म्यानह्याटन जिल्ला सरकारी वकिलको कार्यालयले पनि एक पूर्व कर्मचारीको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ। ती महिलाले सन् २०१९ मा स्वालवेलसँग मदिरा सेवन गरेपछि आफू होटलको कोठामा नग्न अवस्थामा ब्युँझिएको र घटनाको स्पष्ट सम्झना नभएको बताएकी छन्। स्वालवेलले उक्त आरोपको पनि खण्डन गरेका छन्।

Read more news from KHASOKHAS

Explore by Source or Category