npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नेपाली सडकका लागि पर्फेक्ट ‘बीवाइडी एटो टु’, ग्राउन्ड क्लियरेन्स र मूल्यअनुसार कस्तो छ गाडी?

Shukra Giri 3 hours ago

‘हामीले यसलाई अफरोडमा लैजानै पर्दैन’ टेस्ट ड्राइभको सुरुवातमा नै ‘एटो-टू’माथि हाम्रो निष्कर्ष थियो। २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको गाडीलाई अफरोड टेस्टमा लैजान पर्दैन भन्नुको आशय हो – यो पहिले नै टेस्ट भएर भित्रिएको हो।

चीनसँग जोडिएको रसुवाको मुख्य नाका केरूङ जोड्ने पुल बाढीले बगाएपछि लामो समय गाडी नेपाल भित्रिनै सकेन। त्यसपछि विकल्पमा अस्थायी रुपमा संचालनमा आयो मुस्ताङको नाका।

मुस्ताङको पनि उपल्लो भेगमा चार्जिङ स्टेसन खडा गरेर चीनले नेपालतिर गाडी निर्यात थाल्यो। हामीले टेस्ट ड्राइभ गर्दैगरेको एटो टू कोरोला नाका हुँदै भित्रिएकाले भनिएको हो – यसलाई अफरोडमा लैजान पर्दैन।

यसपालाको टेस्ट ड्राइभमा हाम्रो रोजाइको गाडी रह्यो- बीवाइडीको एटो टू। काठमाडौंका सडकमा यसको बाक्लो उपस्थिति छ। कुनै समय बहुप्रतिक्षित रहेको एटो टूका १ हजारभन्दा बढी युनिट नेपालमा दौडिन थालिसके एक वर्षभन्दा कम अवधिको अन्तरमा नै।

बीवाइडीको यो कम्प्याक्ट एसयूभी सबैभन्दा चासोमा रह्यो यसको ग्राउन्ड क्लियरेन्सलाई लिएर। नेपाल वा भारतमा बढी ग्राउन्ड क्लियरेन्स भएका गाडीको माग धेरै हुने गर्छ किनकि सडकको अवस्था सोचेजस्तो राम्रो छैन, सीमित सहरी क्षेत्रलाई बिर्सने हो भने।

‘एटो टू’भित्र छिर्नासाथ यसको ड्यासबोर्ड हेर्दा लाग्यो, हार्ड प्लास्टिक त होइन? छोएपछि थाहा भयो, होइन रहेछ। निक्कै सफ्ट। गाडीको मूल्य कम गर्न कम्पनीहरूले प्रयोग हुने फाइबरमा सम्झौता गर्छन्। यसमा त्यसो भएको होइन रहेछ।

त्यसो त हामीले टेस्ट ड्राइभ गरिरहेको यो कारको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ हो। यसलाई सस्तो त भन्न मिल्दैन तर ब्रान्ड भ्यालु र नेपालमा कम्पनीको उपस्थितिसँग यसका फिचरको तुलना गर्ने हो भने महँगो पनि होइन। त्यसैको असर हो वर्षदिन नकट्दै नेपाली सडकमा यसको उपस्थिति।

हामीले थापाथलीबाट टेस्ट ड्राइभ थाल्यौं। सहरी बाटो हुँदै हामी गोदावरीतिर लाग्यौं। त्यहाँबाट पुष्पविकास केन्द्र हुँदै फुल्चोकीतिर उकालियौं। फुल्चोकी हाम्रो लक्ष्य थिएन। पिच सडक भएको भागसम्ममात्र हामीले अप हिल रोडमा यसको पर्फर्मेन्स हेर्‍यौं। यसमा १ सय किलोवाट क्षमताको मोटर छ जसले पर्फर्मेनेसमा कतै पनि कमजोरी महसुस गराएन। त्यसो त ७० किलोवाट क्षमताको बीवाइडीको पहिलो प्यासेन्जर इभी इ सिक्सबाट मोटर क्षमताको बलियो परीक्षण भइसकेको हो।

थ्री पोइन्ट ओ प्लेटफर्ममा तयार भएकाले बीवाइडीका गाडीमा माइलेजको समस्या पर्दैन। कम्पनीले दाबी गरेको रेन्जमा बीवाइडी अहिलेसम्म सबैभन्दा विश्वसनीय देखिनुको मुख्य कारण यसले इभी सेगमेन्टमा गरेको स्पेसलाइजेसन नै हो।

यसलाई पनि तीनवटा मोडमा चलाउन सकिन्छ- इको, नर्मल र स्पोर्ट। यी मोडमा कुदारहँदा सडकमा राखिएका ट्राफिक सिग्नल र तोकिएको स्पिडको मापदण्ड इन्स्ट्रुमिन क्लस्टरमा देखिन्छ। यही सुविधा यसअघि आएका एटो थ्रीमा उपलब्ध थिएन।

हामीले टेस्ट ड्राइभ गरेको यो गाडीमा ५१.१३ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। एकपटक पूरा चार्ज गरेपछि यसलाई ३४५ किलोमिटरको दुरीसम्म कुदाउन सकिन्छ। त्यसैले लामो दुरीका लागि पनि एटो टू बलियो विकल्प बनेको छ। त्यसमाथि नेपाली सडकमा इभीको विस्तार र त्यसलाई सहयोग पुर्‍याउने चार्जिङ स्टेसनसहितका पूर्वाधारले लामो यात्रामा रेन्ज एन्जाइटी अन्त्य भइसकेको छ।

यसमा पनि सुरक्षाका फिचरका लागि बीवाइडीले कुनै कसर छाडेको छैन। तर मूल्य प्रतिस्पर्धी बनाउन केही सुविधा पनि यसमा उपलब्ध छैन। जस्तो कि लुकिङ मिररमा सेन्सर सहित आइरहेका सवारीको संकेत दिने लाइटिङ उपलब्ध छैन जुन एटो थ्री र त्यसभन्दा माथिका सबै गाडीमा उपलब्ध छ। एयर ब्याग होस् अथवा ३६० डिग्री क्यामरा लगायतका सुरक्षासँग जोडिएका फिचर भने यसमा पर्याप्त छ।

ग्राउन्ड क्लियरेन्सजस्तै गाडीको उचाईले चढ्नासाथ एसयूभी फिल गराउँछ। लेग स्पेस राम्रो छ। सिट आरामदायी लाग्छ तर एटो थ्री र त्यसभन्दा माथिको गाडीसँग भने तुलना गर्न मिल्दैन। हेभी डोरले गाडीको बलियोपनलाई महसुस गराउँछ। इन्टेरियर स्तरीय छ।

क्र्यास टेस्टमा बीवाइडीका सबै गाडी अब्बल ठहरिएकाले सुरक्षा चिन्ता कम हुनु स्वभाविक लाग्छ। यसमा सनरुफ वा मुनरुफ छैन- डल्फिनमा जस्तै। बाहिरी लुक्सले मध्यमवर्गलाई आकर्षित गर्ने क्षमता राख्छ, लाइनिङदेखि लाइटिङसम्म अब्बल देखिन्छ।

उकालो र टर्निङसहित ओसिलो सडकमा चिप्लिने डर भए पनि हामीले टेस्ट ड्राइभ गरिरहँदा ह्विल ग्रिप अपेक्षाभन्दा बलियो पायौं। टर्निङसहितको उकालोमा पर्फर्मेन्स बलियो रह्यो। नर्मल मोडमा नै फुल्चोकीतिरको उकालो यात्रा सफल रह्यो। उकालो अनि अफरोडमा पक्कै स्पोर्ट मोड चाहिन्छ स्मुद पर्फर्मेन्सका लागि।

हाम्रो टेस्ट ड्राइभले गाडीमा प्रश्न गर्ने ठाउँ देखाएन। गाडीमा उपलब्ध फिचर भने माथिल्लो भर्सनभन्दा केही कम र केही नयाँ पाइयो। त्यसैले पहिलो इभी एसयूभी लिन चाहनेका लागि बीवाइडीको यो कम्प्याक्ट भर्सन बलियो विकल्प बनेको छ।

यो गाडी मध्यम वर्गका लागि प्रिमियम कार हो। यस वर्गको इन्ट्री लेबल एटो वान हो। मूल्य र फिचरसँग तुलना गर्दा एटो टू नेपाली सडक र मध्यमवर्ग दुवैका लागि उपयुक्त ठहर्छ। हाम्रो टेस्ट ड्राइभले यही ठम्याएको छ।

The post नेपाली सडकका लागि पर्फेक्ट ‘बीवाइडी एटो टु’, ग्राउन्ड क्लियरेन्स र मूल्यअनुसार कस्तो छ गाडी? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category