npl.977 Nepal News Stream

GandakNews logo GandakNews

पूर्वराजाले चुनावले निकास दिँदैन भनेपछि रविको जवाफ: रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्

गण्डक न्यूज 18 hours ago

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई अब कुनै पनि नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष गरेका छन् ।

सुर्खेतमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको प्रदेश संरचनामा पुनर्विचार (रेट्रोफिट) गर्नुपर्ने आवश्यकता औँल्याए। ‘हामीले प्रदेश खारेज गर्ने भनेका छैनौँ, प्रदेशलाई बेढङ्गको होइन ढङ्गको बनाउनुपर्छ भनेका हौँ,’ उनले भने, ‘अब कर्णाली नेता थन्काउने ठाउँ बन्ने छैन।’

लामिछानेले आसन्न निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने दिनका रूपमा चित्रण गरे। ‘यो निर्वाचन सामान्य दिन होइन, आफ्नै पुस्ताको भविष्यका लागि सोच्ने दिन हो,’ उनले भने। उनले चुनावले निकास दिँदैन भन्नेहरूलाई कडा जवाफ दिँदै भने, ‘चुनावले निकास दिँदैन भने केले दिन्छ ? आन्दोलनले ? यदि त्यसो हो भने म कर्णालीबाटै अफर गर्न चाहन्छु– रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्। हामी रगतको एउटा थोपा पनि बगाउन चाहँदैनौँ, हामी भोटबाटै परिवर्तन चाहन्छौँ।’

पूर्वसञ्चारकर्मीको हैसियतमा कालिकोटमा अस्पताल स्थापना गर्दाको स्मरण गर्दै लामिछानेले कर्णालीसँगको आफ्नो भावनात्मक सम्बन्ध प्रगाढ रहेको बताए। उनले भने, ‘कर्णालीलाई पछाडि पारिएको छ, अब पछाडि पार्न नदिने बाचा पूरा गर्न हामीले यहाँबाटै बाचापत्र सार्वजनिक गरेका हौँ।’

सभापति लामिछानेले लोकतन्त्रलाई खतरा छ भन्नेहरूलाई व्यङ्ग्य गर्दै हेलिकप्टर चढेर भाग्नेहरूका लागि मात्र खतरा रहेको बताए। ‘लोकतन्त्रलाई खतरा तब हुन्छ जब त्यो हेलिकप्टर फेरि सिंहदरबार वा बालुवाटारमा ल्यान्ड हुन्छ,’ उनले भने, ‘जता ल्यान्ड हुन्छ होस्, तर जनताको भाग्य फेर्ने र बनाउने ठाउँमा ल्यान्ड नहोस्।’

उनले रास्वपालाई ५ वर्षको लागि स्पष्ट बहुमत दिन आग्रह समेत गरे । उनले भने, ‘पाँच वर्ष हामीलाई काम गर्न दिनुस्, सकेनौँ भने अर्को चुनावमा हामीलाई राजनीतिक रूपमा घण्टी बजाएर बिदा गरिदिनुस्।’ उनले पुराना दल र नेताहरूप्रति लक्षित गर्दै भने, ‘आँट गर्ने नेता को होला? बालेनजी र मलाई हेर्नुस्, हामीले नगरेको आँट कसले गर्ला ?’

रास्वपाले युवा, महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी गर्दै लामिछानेले अबको निर्वाचनमा ‘घण्टी’ मा मतदान गरेर ५ वर्षको स्थिर सरकार बनाउन अपिल गरे।

Read more news from GandakNews

Explore by Source or Category