कार्बन व्यापारबाट आउने लाभ स्थानीय समुदायको जीवनस्तर सुधार्न प्रयोग गरिने
काठमाडौं। नेपाली कांग्रेसले सार्वजनिक यातायातमा विद्युतीय सवारी र हरित ऊर्जा जस्ता सफा इन्धनमा लगानी केन्द्रित गर्दै सन् २०४५ सम्म ‘नेट शून्य’ उत्सर्जनको लक्ष्य हासिल गर्ने गरी काम गर्ने भएको छ।
कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गर्दै सन् २०४५ सम्म ‘नेट शून्य’ उत्सर्जनको लक्ष्य हासिल गर्ने बताएको हो।
नवीकरणीय ऊर्जाका लागि ‘हरित बण्ड’ जारी गरी पूँजी परिचालन गर्ने र बैंकहरूलाई वातावरणमैत्री क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने पनि कांग्रेसको प्रतिज्ञा पत्रमा उल्लेख छ।
यस्तै सशक्त जलवायु कूटनीति अवलम्बन गरी कार्बन व्यापारबाट प्राप्त हुने लाभलाई सिधै स्थानीय समुदायको जीवनस्तर सुधार्न प्रयोग गर्ने पनि कांग्रेसको प्रतिज्ञा छ।
सडक, रेल र हवाई सेवालाई एकै छातामुनि ल्याउन ‘मल्टिमोडल ट्रान्सपोर्ट एक्ट’ जारी गर्ने र व्यापारिक पूर्वाधारलाई जलवायुमैत्री एवम् विपद् प्रतिरोधी बनाउने कांग्रेसको योजना छ।
‘सार्वजनिक यातायातलाई विद्युतीय र स्वच्छ इन्धनमा रूपान्तरण गर्दै निजी इन्धनचालित सवारीको निर्भरता घटाउँछौं। उद्योग र कारखानामा कडा उत्सर्जन मापदण्ड, रियल-टाइम निगरानी र कार्बन फिल्टर तथा क्याप्चर प्रविधि अनिवार्य गर्छौं,’ कांग्रेसको प्रतिज्ञा पत्रमा भनिएको छ, ‘सडक, ठूला निर्माण, इँटा भट्टा र फोहोर जलाउने अभ्यासबाट हुने धुलो र धुवाँ नियन्त्रण गर्दै सहरी वन, हरित गल्ली र ऊर्जा दक्ष भवन प्रवर्धनमार्फत शहरलाई सास फेर्न सक्ने बनाउँछौं।’
The post कार्बन व्यापारबाट आउने लाभ स्थानीय समुदायको जीवनस्तर सुधार्न प्रयोग गरिने appeared first on BIZMANDU.