पोखरा स्पोर्ट्स अवार्डको सह प्रायोजकमा केल्मी नेपाल
पोखरा (हाम्रो खेलकुद)- १०औं पोखरा स्पोर्ट्स अवार्डका लागि स्पेनिस खेलकुद ब्राण्ड केल्मीको नेपालका लागि आधिकारिक विक्रेता केल्मी नेपाल सह प्रायोजकका रूपमा जोडिएको छ।
केल्मी ब्राण्डका उत्पादन नेपालमा बिक्री–वितरण गर्दै आएको कामरु ट्रेडिङ प्रा.लि. र अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो।
सम्झौतापत्रमा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक न्यौपानेले केल्मी नेपालले निरन्तर रूपमा खेलकुद क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताए।
मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीका आधिकारिक विक्रेता केल्मी नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले विभिन्न आठ विधामा प्रदान गरिने पोखरा स्पोर्ट्स अवार्डलाई सफल बनाउन सहयोग गरेकोमा केल्मी नेपालप्रति आभार व्यक्त गरे।
रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको यो अवार्ड कार्यक्रम आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुनेछ।
कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ/संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार गरी आठ विधामा पुरस्कार प्रदान गरिनेछ।
पिपुल्स च्वाइस अवार्डका विजेतालाई गुरुङ गहना घर प्रा.लि.ले स्कुटर प्रायोजन गरेको छ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् काठमाडौं, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौं, होटल क्राउन प्लाजा काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक ईश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको विशेष सहयोग रहनेछ।
त्यसैगरी सहारा क्लब, टाइगर ग्रुप अफ पोखरा, तमु धिँ युके, प्रेमनारायण न्यौपाने, मोहन घले, विनोद गुरुङ, युवराज गुरुङ (जापान), निशान रानामगर, रमेशकुमार गुरुङ, बसन्त गौचन, किरण थापा (अष्ट्रेलिया) तथा राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रा.लि. लगायत विभिन्न संघसंस्थाले सहयोग गर्ने आयोजकले जनाएको छ।
The post पोखरा स्पोर्ट्स अवार्डको सह प्रायोजकमा केल्मी नेपाल first appeared on हाम्रो खेलकुद.