PalikaNews
कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशकै पहिलो पालिका बन्यो
काठमाडौं — देशभरका ७ सय ५३ स्थानीय सरकारमध्ये अर्घाखाँचीको पाणिनि गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार पाणिनि गाउँपालिकाले ८३.८४ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
८० अंकभन्दा माथि ल्याउने स्थानीय तह देशभर चारवटा रहेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ अंक र धुर्कोट गाउँपालिकाले ८०.५२ अंक ल्याउँदै उत्कृष्ट सूचीमा परेका छन् ।
आयोगले स्थानीय तहको मूल्यांकन १७ सूचकका आधारमा गरेको जनाएको छ। जसमा असार १० भित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित भए/नभएको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको लगायतका सूचक समावेश छन्।
यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसईई नतिजा र खोप लगाएका बालबालिकाको प्रतिशतसमेत मूल्यांकनका आधार बनाइएको आयोगले जनाएको छ।
कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको नतिजा कमजोर देखिएको छ। धनुषाको धनौजी गाउँपालिकाले ३१.८१ अंक, महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक, सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक प्राप्त गरेका छन्।
यस्तै रौतहटको फतुवा विजयपुर नगरपालिकाले ३५.४१ अंक, वृन्दावन नगरपालिकाले ३१.६९ अंक र देवाही गोनाही नगरपालिकाले ३०.९१ अंक प्राप्त गरेका छन्। पर्साको धोबिनी गाउँपालिकाले ३२.८८ अंक प्राप्त गरेको आयोगले जनाएको छ।