npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

चार लेन पुल निरीक्षणमा पुगेका मन्त्री घिसिङको चेतावनी : समयमै काम नगर्ने ठेकेदारलाई कारबाही हुन्छ

पालिका ब्यूरो 1 week ago

दमौली – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन पुल पर्यटकीय हिसाबले पनि आकर्षक हुने उल्लेख गर्दै यसले पर्यटकलाई आकर्षित गर्ने बताए । मुग्लिन–पोखरा सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेको जनाउँदै उनले यस सडकले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले अझ नजिकबाट जोड्ने बताए ।

“मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम मात्र बाँकी छ,” मन्त्री घिसिङले भने, “यसले ठूलो परिवर्तन ल्याउनेमा म विश्वस्त छु । मुग्लिनदेखि काठमाडौँसम्मको सडक निर्माण विश्व बैंकको सहयोगमा भइरहेको छ ।”

यसैबीच, मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र काम नगर्नेलाई दण्ड–जरिवाना गरिने स्पष्ट गरे । सडक डिभिजन कार्यालय दमौलीमा आयोजित विभिन्न पालिकाका स्थानीय तथा जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण देशको विकास प्रभावित भएको उल्लेख गरे ।

“कुनै पनि निर्माण व्यवसायीले काम नगरे देश उनीहरूको कब्जामा गएजस्तो अवस्था देखिन्छ,” उनले भने, “समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिन्छ।”

मन्त्री घिसिङले सडक विभागअन्तर्गत २०० भन्दा बढी सडक आयोजना ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । तनहुँको घुमाउने पुल विगत ११ वर्षदेखि अलपत्र रहेको जनाउँदै उनले, एक महिनाभित्र काम सुरु नगरे उक्त योजना पनि रद्द गरी अगाडि बढाइने चेतावनी दिए ।

कार्यक्रममा व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका जनप्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रमा रहेका विकास निर्माणसम्बन्धी विषयमा मन्त्री घिसिङसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

Read more news from PalikaNews

Explore by Source or Category