KHASOKHAS
चिनियाँ पाइलटलाई तालिम दिएको आरोप लागेका पूर्व अमेरिकी मरीन अष्ट्रेलियाबाट सुपुर्दगी हुने
चिनियाँ पाइलटहरूलाई अवैध रूपमा तालिम दिएको आरोप लागेका पूर्व अमेरिकी मरीनलाई अमेरिका सुपुर्दगी गरिने भएको छ। उनले अष्ट्रेलियामा बस्न प्रयास गरेका थिए, तर उनलाई अमेरिकाले खोजी गरिरहेको छ।
५७ वर्षीय डेनियल डगनलाई सन् २०२२ अक्टोबरमा अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित ओरान्ज सहरबाट अमेरिकी अनुरोधमा पक्राउ गरिएको थियो।
अमेरिकाको दाबीअनुसार, उनले सन् २०१० देखि २०१२ को बीचमा दक्षिण अफ्रिकामा चिनियाँ लडाकु विमान चालकहरूलाई तालिम दिएर अमेरिकी हतियार तस्करीसम्बन्धी कानुनको उल्लङ्घन गरेका थिए।
डगनले यी आरोपहरू अस्वीकार गरेका छन्। उनी अष्ट्रेलियाका नागरिक पनि हुन्। उनले सुपुर्दगी रोक्न अदालतमा पुनरावेदन (अपिल) गरेका थिए, तर संघीय अदालतका न्यायाधीशले उक्त अपिल खारेज गरिदिएपछि उनलाई अमेरिका पठाउने बाटो खुलेको छ।
अदालत बाहिर उनकी श्रीमतीले निर्णयप्रति निराशा व्यक्त गर्दै सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेकी छन्। अमेरिकी अदालतका कागजातहरूका अनुसार, डगनले चिनियाँ सेनालाई सैन्य तालिम दिनुअघि अमेरिकी सरकारसँग अनुमति लिएका थिएनन्।
छ जना सन्तानका पिता डगनले अमेरिकी नागरिकता त्यागिसकेका छन्। यदि उनी दोषी ठहरिए भने उनलाई अधिकतम ६५ वर्षसम्म कैद सजाय हुन सक्छ। यसअघि उनका वकिलले अष्ट्रेलियामा अमेरिकाले लगाएको आरोपसँग मेल खाने कानुन नभएकाले सुपुर्दगी गर्न नहुने तर्क गरेका थिए।
तर, सन् २०२४ मा तत्कालीन महान्यायाधिवक्ता मार्क ड्रेफसले सुपुर्दगी स्वीकृत गरेका थिए। अब डगनसँग संघीय अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्न २८ दिनको समय बाँकी छ। अदालतले सरकारको खर्च समेत उनैले व्यहोर्नुपर्ने आदेश दिएको छ।