झापाले आर्मीलाई हरायो
विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा-११ विजयी भएको छ । विराटनगरस्थित शहीद रङ्गशालामा भएको रात्रिकालीन प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।
झापाको जितमा स्ट्राइकर फागुराम थारूले निर्णायक भूमिका निर्वाह गरे । उनले खेलको १० औँ र ४४ औँ मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । फागुराम खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गरे । पराजित आर्मीका तर्फबाट खेलको २३ औँ मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
रोचक संयोग त के छ भने, झन्डै ११ वर्षअघि वि.सं. २०७१ सालको विराट गोल्डकप फाइनलमा पनि झापाले आर्मीलाई नै हराएर उपाधि जितेको थियो । शनिबारको नतिजासँगै झापाले पुरानो इतिहास दोहोर्याउँदै आर्मीलाई प्रतियोगिताबाट बाहिर पठाएको छ ।
खेलको १० औँ मिनेटमा अनुप तामाङको पासमा फागुरामले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो । तर, पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा राजेश दाहालको पासमा फागुरामले व्यक्तिगत दोस्रो गोल गरेपछि झापा २–१ ले अघि बढ्यो । दोस्रो हाफमा आर्मीले गोल गर्ने केही राम्रा अवसरहरू गुमाएको थियो ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरे । वैशाख ५ गतेसम्म चल्ने रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता छ । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । आइतबारको खेल ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।