प्रतिनिधिसभा निर्वाचनः मतदाता शिक्षासम्बन्धी टिकटक भिडियो आग्रह, उत्कृष्टलाई रु. ५० हजारसम्म पुरस्कार
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षासम्बन्धी टिकटक भिडियो बनाउन आग्रह गरेको छ। उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिइने पनि आयोगले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ। निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर १ मिनेटसम्म अवधिको टिकटक भिडियो बनाई आफ्नो टिकटक, फेसबुक तथा युट्युब अकाउन्ट (च्यानल) मा राख्न आयोगले सूचना जारी गरी आग्रह गरेको छ। भिडियो यही फागुन १७ गतेसम्म आयोगको ई–मेल ठेगाना tiktok@ecn.gov.np मा पठाउन सकिनेछ।
आयोगमा प्राप्त भएका भिडियोमध्ये सबैभन्दा बढी भ्युअर्स भएका उत्कृष्ट तीनवटा भिडियोलाई आयोगको तर्फबाट क्रमशः जनही नगद रु. ५० हजार, ३० हजार र २० हजारका दरले पुरस्कृत गरी प्रमाणपत्रसमेत प्रदान गरिने आयोगले जनाएको छ।
यस्ता छन् सर्त
- टिकटक भिडियो प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार गर्नुपर्नेछ।
- भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ। आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ।
- निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी जस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडियो बनाउन सकिनेछ।
- कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सकिनेछ। साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडियो निर्माण गर्न सकिनेछ।
- यसरी प्राप्त भएका भिडियोहरुमा आयोगको अधिकार रहनेछ। भिडियो सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न सक्नेछ।
- तोकिएका शर्तहरुको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरु स्वीकार गरिने छैन।
- उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुनेछ।