रेनु दाहाललाई समर्थन गर्दै बिकले दिए उम्मेदवारी फिर्ता
काठमाडौँ- चितवन-३ मा नेकपा संयुक्तका उम्मेदवार जितबहादुर बिक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा उनले उम्मेदवारी फिर्ता लिँदै पार्टी प्रवेश गरेका हुन्।
पार्टीका नेता तथा चितवन ३ का चुनावी कमान्डर ईश्वरी भट्टराईले उनलाई टीका लगाएर स्वागत गरे। पार्टी प्रवेशपछि बिकले कम्युनिस्ट आन्दोलनको एकीकरण र विकासमुखी एजेन्डालाई बलियो बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको बताए। उनले चितवन–३ की उम्मेदवार रेनु दाहालको विजय अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। नेकपा संयुक्तका अन्य कार्यकर्तालाई पनि पार्टीमा समाहित गराउने बताए।
सो अवसरमा उम्मेदवार रेनु दाहालले बिकले उम्मेदवारी फिर्ता लिई सहयोग गरेकोमा धन्यवाद दिँदै पार्टीमा स्वागत गरिन्। कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज ईश्वरी भट्टराई, चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायत नेताहरू सहभागी थिए।