npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

विश्वमा प्रचलनमा रहेका वैश्विक नेतृत्व मोडेलहरू

इन्द्र कमल रोक्का 8 hours ago

काठमाडाैं । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू नै राज्य सञ्चालनका मेरुदण्ड हुन् । दलहरूको व्यवस्थापन, सञ्चालन प्रणाली, संगठनात्मक ढाँचा र नेतृत्व छनोट प्रक्रिया राम्रो रहँदा ती देशहरुले राम्रो प्रगति गर्न सक्छन् । दलहरूको व्यवस्थापन अस्तव्यस्त हुँदा देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा अनियमितता र राज्यले लिने नीतिहरूमा पनि अस्थिरता अवस्था रहन्छ । यसले देशलाई अविस्वनिया मुलुक बनाउछ र राष्ट्रको समग्र विकासलाई पछाडि धकेल्छ।

धेरै देशहरुमाहरुमा राजनीतिक दलको नेतृत्वको ढाँचा कस्तो हुने, संगठनात्मक ढाँचा कस्तो हुने, नेतृत्वको समयावधि के हुने जस्ता कुरामा संवैधानिक व्यवस्था गरेको पाइन्छ । यसो हुँदा त्यस्ता देशहरुमा दलका नेतृत्व छनोट लगायतका चिजहरुमा एकरुपता हुने, मुख्य राष्ट्रिय मुद्दाहरुमा समान धारणा हुने, दलको नेतृत्व छनोट प्रक्रियामा समानान्तर अभ्यास हुने गरेको पाइन्छ । त्यसरी संवैधानिक अभ्यास गरेका देशहरुले आफ्नो विकासको गतिलाई तीव्र रुपमा बढाएका छन् । र विकसित मुलुकको दर्जामा पुग्न पनि सकेका छन्। त्यसकारण दलहरूको व्यवस्थापनमा राज्यले उपयुक्त निर्णय लिनु र मतदाताहरुले पनि चासो राख्नु दलका नेताहरु जतिकै महत्वपूर्ण भूमिका रहन्छ ।

यो लेखमा राजनीतिक दलको वा राज्यको नेतृत्व गर्ने नेताहरूको छनोट प्रक्रिया कार्य, अवधि जस्ता कुरा जो अहिले विश्वमा प्रचलनमा छन् तीनको चर्चा गरिनेछ। हाम्रो देशको सन्दर्भमा राजनीतिक दलको नेतृत्व छनौटको विधि, कार्यावधि, संगठनात्मक ढाचा कुन मोडेल उपयुक्त होला छलफलको विषय हुन सक्छ । नयाँ र उदयमान दलहरु हुन् वा निर्वाचनको परिणामले थचारिएका पुराना दलहरु, जो आफूलाई पुनर्गठित/पुनसंरचित गरेर अघि बढ्न चाहन्छन्, तिनीहरूका लागि पनि सन्दर्भ सामग्रीको रुपमा काम लाग्न सक्छ।

अहिले संविधान संशाेधनको सन्दर्भ चलिरहेको पृष्ठभूमिमा राजनीतिक दलका लागि यी कोर विषयमा संबैधानिक प्रबन्ध गर्न सकेमा दल भित्रका राजनैतिक किचलो धेरै हदसम्म समाप्त हुन्छ/पुनारोदय हुँदैन, सुशासन बहाल हुने, स्थिरता कायम हुने र देशले छिट्टै काचुली फेर्न सक्ने अवस्था आउन सक्छ । किनकी देश बिगार्ने वा बनाउने यिनै दलका नेतृत्वले हो । हाल विश्वमा प्रचलनमा रहेका मुख्य र नविनतम नेतृत्वका माेडेलहरु:-

१. लोकतान्त्रिक नेतृत्व मोडेल:- यो मोडेल विश्वका धेरै प्रजातान्त्रिक देशहरू र प्रजातन्त्रवादी भनिएका पार्टीहरूमा अभ्यास गरिएको छ । निश्चित अवधिका निम्ति नेतृत्वको निर्वाचन पार्टीका तोकिएका सदस्यहरुबाट हुन्छ । आफ्नो तोकिएको कार्यकाल समाप्त भएपछि स्वतः अवकाश हुन्छ र अर्को योग्य मान्छे निर्वाचित भएर आउने अवस्थामै आफ्नो कार्यावधिको बारेमा, अधिकार कर्तव्य र सीमाहरूको बारेमा स्पष्ट वैधानिक व्यवस्था हुने भएको हुनाले त्यो व्यवस्थालाई मिचेर आफू अनुकूल शासन अवधि लम्ब्याउने वा अधिकार बाहिर गएर दुरुपयोग गर्ने प्रयत्न कम हुन्छ । बरु यसै अवधिलाई आफ्नो सम्पूर्ण तागत लगाएर अधिकतम परिणाम दिने उदेश्यले काम गर्छ ।

धेरै देशहरुमा पार्टीभित्र पनि सर्वोच्च पदमा दुई कार्यकालको व्यवस्था गरिएको हुन्छ र राज्यका सर्वोच्च पदमा पनि यस्तै व्यवस्था हुन्छ । यी देशहरूले विकासको तीव्र रफ्तारलाई समाएको देखिन्छ, यहि रफ्तारमा समुन्नतितर्फ अघि बढेको पाइन्छ । कृषि विज्ञानमा पनि लगातार एउटै जातको बिउ दुईपटक भन्दा बढी लगाउँदा माटोको उर्बरा शक्ति घट्छ र उत्पादनमा ह्रास आउन थाल्छ । धेरैपटक त्यही जातको बिउ दोहोर्‍यायाे भने ८० प्रतिशत सम्म उत्पादन घट्छ भन्ने कृषि विज्ञहरूको भनाइ देखिन्छ । यसलाई उनीहरुले माटोमा आउने थकान भन्छन् ।

तेस्रोपटकदेखि बोटबिरुवाको जात फेर्नुपर्छ भन्ने वैज्ञानिक भनाइ छ । मतदातामा पनि लगातार १० वर्षसम्म एउटै नेतालाई देखिरहेपछि जनतामा पनि मनोवैज्ञानिक थकान हुने र गुण दोषलाई हेर्नु भन्दा नयाँलाई हेर्ने मनोविज्ञान विकास हुन्छ | त्यसकारण यी विकसित देशहरूले यो प्रणाली अपनाएको भन्ने कुरा हामी मान्न सक्छौँ।

२. कम्युनिस्ट नेतृत्व मोडेल:– यो मोडेल प्राय संसारभरिकै कम्युनिष्ट पार्टीहरूमा भेटिन्छ । एकपटक पार्टीको शीर्ष स्थानमा पुगिसकेपछि सो नेताले आफ्नो जीवन रहुन्जेल आफू त्यहि उच्च कार्यकारी भूमिकामा रहन्छ । त्यसका निम्ति उसले पार्टीभित्र सिन्डिकेट सिर्जना गर्छ, जुनियरहरूको खटनपटन त्यहि मेसो मिलाएर गर्छ र आफ्नो विपक्षमा उठ्ने मतलाई निस्तेज गर्छ/किनारिकृत गर्छ र आफू उच्च पदमा टिकिरहन्छ | हामी लेनिन, स्टालिन हुँदै फिडेल क्यास्ट्रो, होचिमिन्ह , किम इल सुंग हुँदै ज्योति बसु उदाहरण भेट्न सक्छौं | नेपालमा पनि आमरुपमा त्यो नेतृत्व मोडेलबाट नेपाली कम्युनिस्टहरु अछुतो छैनन् । त्यसकारण पनि हुनसक्छ कम्युनिष्टहरूका आमूल परिवर्तनकारी विचारहरू, समाज रूपान्तरण गर्ने कार्यक्रमहरू, पछाडि परेको वर्गलाई अगाडि ल्याउने योजनाहरू र वैज्ञानिक दर्शन भएर पनि संसारमा कम्युनिस्टहरुलाई आफ्नो अस्तित्व जोगाउन मुस्किल परिरहेको अवस्था हामी देख्छौं।

३. योग्यता आधारित घुम्ती नेतृत्व मोडेल:- यो मोडेल मा कार्यकर्ता वा नेताहरूको योग्यता क्षमता र अनुभव समेतका आधारमा खास समयका निम्ति नेतृत्वमा निर्वाचित गरिन्छ । तोकिएको समय पूरा भएपछि उसलाई अर्को कार्यक्षेत्रको जिम्मेवारी दिइन्छ । उक्त स्थानमा दोस्रो व्यक्ति आउँछ । दोस्रोलाई पनि सोही तरिकाले बिदा गरिन्छ । तेस्रो आउँछ । रोटेसनका आधारमा नेतृत्व चयन गरिन्छ र कामको विभाजन गरिन्छ । खास समय माथिल्लो समितिमा बसेर काम गरिरहेको मान्छेलाई समयावधि तोकेर तल्लो तहहरुमा पनि काममा खटाउने र मेरिटको आधारमा जिम्मेवारी घुमिरहने | ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’को अवधारणालाई पूर्णरूपमा कार्यान्वयन हुने यो मोडेल । यो मोडेलमा मतदातामा मनोवैज्ञानिक थकान नहुने, व्यक्ति नियमित रुपमा परिवर्तन हुने र यो कति समय रहन्छ, यसपछि को आउन सक्छ, यसको अर्को कार्यक्षेत्र के हुन्छ भनेजस्ता कुराहरू सामान्यतया पूर्वानुमान गर्न सकिने भएको हुनाले यो मोडेल लोकप्रिय हुनसक्छ ।

सर्वप्रथम यो मोडेल जोसेफ स्टालिनले केन्द्रीय समिति भन्दा तलका कार्यकर्ताहरुलाई सन्तुस्ट बनाई राख्न पहिलोपटक अभ्यास गरेको पाइन्छ । स्टालिनको अवसानपछि यो मोडेल त्यहाँ कार्यान्वयनमा आएन । यो प्रणाली मूलत क्षमता र योग्यताका आधारमा तोकिएको समयका लागि मात्र प्राप्त हुने हुनाले यसलाई ‘अवसरको समानता’ जस्ता कुरासँग हेरिन्छ । यसले राजनीति भित्रका नातावाद (नेपोटिजम), वंशगत, गुटगत जस्ता गतिविधिहरूलाई चुनौती दिन्छ र यो अबको समयमा लोकप्रिय हुँदै गएको पाइन्छ।

यसको अभ्यास चिनिया कम्युनिस्ट पार्टीले राम्रोसँग गरेको छ। सिले पछिल्लो समयमा संविधान संशोधन गरेर आफ्नो कार्यकाल लम्ब्याउने कुरा गर्नु भन्दा अगाडिसम्म शीर्ष तहमा पनि यसको सफल प्रयोग भएको पाइन्छ । सिंगापुरमा सरकारी कर्मचारीहरूको वृत्ती विकास, कार्यविभाजन र मूल्याङ्कनका लागि यो मेरिटोक्रेटिक रोटेसन लिडरशिप सिस्टम (योग्यता आधारित घुम्ती नेतृत्व प्रणाली)को सफल प्रयोग गरिएको छ । जापानमा पनि निजामती कर्मचारीको हकमा यो सफल प्रयोग गरेको छ, जसले संस्थागत अनुभव र संस्थाको दीर्घकालीन विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

४. रोजाभा नेतृत्व मोडेल:- सन् २०१२ को गर्मीयाममा जब सिरिया विभिन्न युद्धरत समूहहरूमा विभाजित भयो, सिरियन डेमोक्रेटिक फोर्सेस (पीवाईडी)ले उत्तर सिरियामा बहुसंख्यक कुर्द जनसंख्या भएका तीन क्षेत्र (जाजिरा, कोबाने र अफ्रिन)मा नियन्त्रण स्थापित गर्‍यो। सन् २०१४ को सुरुवातसम्म, पीवाईडीले यी क्षेत्रहरूलाई ‘रोजाभा’ नाम दियो र स्थानीय प्रशासनका ‘क्यान्टन’ का रूपमा परिभाषित गर्‍यो । स्थानीय सभाका लागि निर्वाचनसमेत सम्पन्न गर्‍यो । निर्वाचनमा विभिन्न पृष्ठभूमिका मानिसहरू (कुर्द, अरब, अस्सिरियन, सिरियन तुर्कमेन र याजिदीहरू) लाई सहभागी हुन प्रोत्साहित गर्‍याे । जातीय अल्पसंख्यकका लागि आरक्षणको व्यवस्था समेत गरिएको छ। साथै, सरकारमा महिलाको सहभागिताका लागि कोटा तथा युवाहरूका लागि पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

विश्लेषकहरूले रोजाभाको नेतृत्व ‘स्वतन्त्रतावादी समाजवाद’ बाट प्रभावित भएको मान्छन्, जसमा राज्यको भूमिका घट्दै जान्छ र मानिसहरूले परिषदमार्फत शासन गर्छन्। यो अवधारणा राष्ट्रिय सार्वभौमिकताभन्दा फरक छ, जहाँ शक्ति सरकारको हातमा केन्द्रित हुन्छ। स्वतन्त्रतावादी समाजवाद नयाँ शब्द भए पनि यसको विचार पुरानो हो । त्यस्ता समाजवादीहरू जसले व्यक्तिगत स्वतन्त्रतालाई स्वीकार्छन्। तर यस दृष्टिकोणअनुसार प्राकृतिक स्रोत, जल, जमिन, जंगल आदि सामूहिक स्वामित्वमा हुनुपर्छ। थोमस जेफरसनलाई यो मोडेलको संस्थापक मानिन्छन । जेफरसनका अनुसार प्रत्येक ‘वार्ड’ आफैंमा सानो गणतन्त्र हुनेछ, र राज्यका प्रत्येक नागरिक साझा शासनको सक्रिय सदस्य बन्नेछन । केन्द्रको अधीनस्थ भए पनि महत्त्वपूर्ण, र आफ्नो क्षमताभित्र पूर्ण स्वायत्त र सक्षम रहने छन् ।

रोजाभा सन् २०१२ मा स्थापित उत्तर तथा पूर्वी सिरियाको लोकतान्त्रिक स्वायत्त प्रशासन हो | यसले आफ्ना क्यान्टोनहरुलाई पनि स्वायत्तता दिएको | आफ्नै सेना ( सिरियन डेमोक्रेटिक फोर्सेस) छ | द्वैध राष्ट्रपति , जनताको लोकतान्त्रिक परिषद नामको संसद छ | यहि संसदले शासनको सम्पूर्ण निर्णय लिन्छ | कटलोनिया संसदले औपचारिक तथा अमेरिका लगायत देश अनौपचारिक मान्यता दिएका छन् | यो सिरियाली कम्युनिस्ट नेता पिकेके अब्दुल्लाह ओचलन द्वारा विकास गरिएको ‘ लोकतान्त्रिक संघवाद’ मोडेल हो | यसका विशेषता:- राज्य विहिन समाज, साना स्वशासित इकाई ,सबै निर्णय तलबाट ( गाउँ/टोलमा गठन भएका कम्युनबाट), प्रत्येक सस्थामा ५० प्रतिशत महिला, एक हिसाबले लेनिनवादको केन्द्रिकृत शासन र अग्रगामी राजनीतिक दलको विकल्पमा विकास भएको बाम मोडेलको जनता नै नेता हुने लोकप्रिय प्रणाली हो |

५. जापाटिस्टा मोडेल :- सन् १९९४ जनवरी १ मा, जब ‘नर्थ अमेरिकन फ्रि ट्रेड अग्रिमेन्ट’ (नेफ्टा) लागू भयो, त्यही दिन मेक्सिकोको चियापासका जंगल र पहाडी क्षेत्रमा लामो समयदेखि विकसित भइरहेको एउटा आन्दोलन खुला रूपमा अघि आयो। जापाटिस्टा नेसनल लिबरेसन आर्मीले केवल मेक्सिको सरकारविरुद्ध मात्र होइन, नवउदारवादविरुद्ध नै युद्धको घोषणा गर्‍यो। उनीहरूले नेफ्टालाई आदिवासी समुदायका लागि ‘मृत्युदण्ड’ जस्तै भएको माने । त्यस समयमा आदिवासी समुदायहरू भोकमरीको अवस्थामा थिए।

करिब आधा जनसंख्याको कुनै आय नै थिएन वा दैनिक ५ डलरभन्दा कममा बाँचिरहेका थिए। चियापासका ७० प्रतिशत आदिवासीहरू कुपोषणबाट पीडित थिए। यस्तो अवस्थामा लिबरेसन आर्मीले प्रणाली परिवर्तन नभएसम्म आफ्नो अस्तित्व जोगाउन नसकिने ठाने। जापाटिस्टा विद्रोह,यसले विकास गरेको शासन र नेतृत्व प्रणाली नेफ्टाका कारण बढेको असमानता र सांस्कृतिक तथा पारिस्थितिक संकटको प्रत्यक्ष प्रतिक्रिया थियो। उनीहरूले स्वायत्त क्षेत्र स्थापना गरेर नवउदारवादी नीतिको प्रतिरोध गरे, परम्परागत कृषि पुनर्जीवित गरे, र समुदायमा आधारित दिगो शासन प्रणाली विकास गरे।

यो मोडेल अन्तर्गत नेता जनताको मालिक होइन, नेता समुदायको सेवक हुन्छ, निर्णय जनताबाट आउँछ, नेता त्यसलाई कार्यान्वयन गर्छ, गाउँ/समुदाय सभामा छलफल हुन्छ, सबै सदस्यहरूको सहभागिता हुन्छ, सहमति वा सामूहिक निर्णय लिइन्छ (संसद होइन ‘जनसभा’बाट), कुनै पनि व्यक्ति लामो समय नेता हुँदैन, पदहरू नियमित रूपमा परिवर्तन हुन्छन्, यसले शक्ति केन्द्रीकरण रोक्छ | यो नेतृत्व मोडेललाई यसरी पनि बुझ्न सकिन्छ: “प्रत्यक्ष लोकतन्त्र + विकेन्द्रीकरण + घुम्ती नेतृत्व + समुदाय-आधारित शासन” |

६.स्विजरल्याण्डको कार्यकारी नेतृत्व मोडेल:- नेपाल लगायत विश्वका धेरै नागरिकहरूलाई स्विजरल्याण्डको राष्ट्रपति वा प्रधानमन्त्रीको बारेमा जानकारी हुँदैन । त्यहाँको नेतृत्व विकासको मोडेल विशिष्ट प्रकारको छ। त्यहाँको संघीय संसद फेडेरल एसेम्बली का दुईवटा सदन नेसनल काउन्सिल र काउन्सिल अफ स्टेट्सका सदस्यहरूले सातजना कार्यकारी मन्त्रिपरिषद्को निर्वाचन गर्छन् | तिनै ७ जना मन्त्रीपरिषद्का सदस्यहरूले सामूहिक निर्णयबाट राज्य सञ्चालन गर्छन्। सातमध्ये एकले एक वर्षका लागि मन्त्रिपरिषदको अध्यक्षता गर्छ र उसैलाई राष्ट्रपतिको सम्मान दिइन्छ ।

राष्ट्रपतिको रुपमा उसैले प्रतिनिधित्व गर्छ अर्को वर्ष अर्कै सदस्यले सो काम गर्छ । राष्ट्रपति बाट निवृत्त भएको व्यक्ति फेरि फेडेरल एसेम्बलीको विश्वास प्राप्त गर्न सकेर फेरि मन्त्रिपरिषदको अध्यक्ष/राष्ट्रपति बन्न चाहेमा सात वर्षपछि मात्रै उनको पालो आउँछ । ७ सदस्य मन्त्रिमण्डलको निर्वाचन पनि म्याजिक फर्मुला भनिने तरिकाबाट सबै राजनीतिक दलहरुबीच सन्तुलन मिलाएर निर्वाचन गरिन्छ । यसरी छानिने स्विस प्रणालीलाई कलेजियल एक्जिकटिभ सिस्टम वा कलेक्टिभ लिडरशिप मोडेल भन्ने गरिन्छ । यो मोडेललाई एक व्यक्ति शासन होइन साझा नेतृत्वको स्थिर प्रणाली भन्न सकिन्छ जसले आज स्विजरल्याण्डलाई विश्वको सर्वोच्च, शान्तिप्रिय, समृद्ध र सुखी मुलुक बनाउन सकेको छ |

७. तानाशाही नेतृत्व मोडेल:- हामी सबैलाई जानकारी छ, विश्वमा केही तानाशाही व्यवस्था वा नेतृत्व छ | कोही सैनिक नेतृत्वमा छन् त कोही जननिर्वाचित तानाशाहहरु छन् | सैनिक तानाशाहहरूको कुरालाई छोडौं त्यसको पक्षमा कुनै जनसमर्थन हुँदैन | जननिर्वाचित प्रतिनिधिहरू लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुन्छन्। तानाशाही प्रवृत्तिका नेताहरूले सुरुमा राष्ट्रवादको कुरा धेरै उछाल्छन् र जनप्रिय कामहरु सुरुवात गर्छन्।

केही प्रियतावादी कामहरूको साथमा राष्ट्रवादी नाराहरु अगाडि सारेर जनताको विश्वास जित्छन्, मन जित्छन्, राज्यका सम्पूर्ण शक्ति/संयन्त्रहरु आफूमा केन्द्रित गर्दै जान्छन् र आफू अत्यन्त शक्तिशाली बनिसकेपछि आफ्नो अनुकूलतामा, आफ्नो मर्जीमा आफूले चाहेको परिणाम प्राप्त हुने परिस्थिति सिर्जना गर्दै निर्वाचित गराइन्छ | यस्ता तानाशाहहरूले आजन्म शक्तिमा रहने प्रयत्न गरिरहन्छन् । त्यसका धेरै उदाहरणहरु छन् । यिनको एउटा सकारात्मक कुरा के छ भने यिनले देशलाई तीव्र विकास मार्फत देशको समृद्धि हासिल गर्न सफल भएका पनि हुन्छन् | हामी कुन मोडेलमा जाने होला ?

Read more news from Kendrabindu

Explore by Source or Category