npl.977 Nepal News Stream

Taksar News logo Taksar News

उडान अभावले होटल क्षेत्र सङ्कटमा, लगानी सुरक्षाका लागि राज्य सक्रिय हुनुपर्ने माग

टक्सार न्युज 6 hours ago

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल क्षेत्रमा भएको अर्बौं लगानीको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने बताएका छन्।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणपछि ठूलो संख्यामा होटल खुले पनि अपेक्षाअनुसार उडान सञ्चालन नहुँदा व्यवसायीहरू समस्यामा परेको उल्लेख गरे।

उनका अनुसार सरकारले विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा त्यस क्षेत्रका होटलहरू धराशायी हुने अवस्थामा पुगेका छन्।

सम्भावना भएका क्षेत्रमा स्पष्ट योजना बनाएर लगानी संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। पर्यटन प्रवर्द्धनका लागि हवाई उडान विस्तार अपरिहार्य रहेको बताउँदै भैरहवा र पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने धारणा राखे। सरकारले आवश्यक परे १०–१५ वटा जहाज किनेर भए पनि नियमित उडान सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा उद्योगी पवन गोल्यानले पछिल्लो समय देशका विभिन्न स्थानमा होमस्टे विस्तार भइरहे पनि प्रभावकारी प्रचार–प्रसारको अभाव रहेको बताए।

विदेशमा बसोबास गर्ने नेपालीहरू नेपाल आएर आफ्ना सन्तानलाई ग्रामीण परिवेशमा राख्न इच्छुक भए पनि कहाँ–कहाँ होमस्टे सञ्चालनमा छन् भन्ने जानकारी नपाइरहेको उनले उल्लेख गरे। यसका लागि एकीकृत अनलाइन पोर्टल वा क्षेत्रगत डिजिटल प्लेटफर्म निर्माण गरी व्यापक प्रचार गर्नुपर्ने उनको सुझाव थियो।

त्यस्तै, लगानी बोर्ड नेपालका पूर्व कार्यकारी अधिकृत सुशील भट्टले आधारभूत पूर्वाधार पर्याप्त भएका क्षेत्रमा पर्यटन प्रवर्द्धन सम्भव रहेको बताए।

उनका अनुसार पर्यटक सङ्ख्या बढाउन सीमा नाका, विमानस्थल र सडक सञ्जाल व्यवस्थित हुनुपर्छ। नेपालका धेरै क्षेत्रमा पूर्वाधार विस्तार भइसकेकाले अब प्रभावकारी व्यवस्थापन र समन्वयमार्फत पर्यटन क्षेत्रलाई गति दिन सकिने उनको धारणा थियो।

Read more news from Taksar News

Explore by Source or Category