KHASOKHAS
परिवारमा आधारित ग्रिनकार्डका फाइलिङ र भिसा जारी हुने मितिमा मेमा पनि अग्रता कायम
मे २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्डका प्रायः सबै श्रेणीमा उल्लेख्य अग्रता देखिएको छ। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अप्रिलमा करेन्ट रहेकोमा मे महिनामा पनि सो मिति करेन्ट नै रहने भएको छ।
यसको अर्थ अब यस श्रेणीका आवेदकहरूले आफ्नो प्राथमिकता मिति जुनसुकै भए पनि समायोजनका लागि आवेदन दिन सक्नेछन्। अमेरिकी नागरिकका अविवाहित छोराछोरी र अन्य श्रेणीहरूमा पनि फाइल गर्ने मितिमा सकारात्मक परिवर्तन आएको छ।
अमेरिकी नागरिकका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति अप्रिलमा १ मार्च २०१८ रहेकोमा मेमा सात महिनाको अग्रता कायम हुँदै १ अक्टोबर २०१८ पुगेको छ। त्यसैगरी, २१ वर्षमाथिका अविवाहित छोराछोरीको ग्रिनकार्ड फाइल गर्ने मिति अप्रिलमा ८ अगस्ट २०१७ रहेकोमा मेमा १ जनवरी २०१८ पुगेको छ।
विवाहित छोराछोरीको हकमा ग्रिनकार्ड फाइल गर्ने मिति अप्रिलमा २२ नोभेम्बर २०१२ रहेकोमा मेमा ८ डिसेम्बर २०१२ पुगेको छ भने दाजुभाइ तथा दिदीबहिनीको ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति १५ मे २००९ बाट अग्रता कायम भई १ सेप्टेम्बर २००९ पुगेको छ।
भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने अन्तिम निर्णय मितिमा पनि धेरैजसो श्रेणीमा सुधार देखिएको छ। अमेरिकी नागरिकका अविवाहित छोराछोरीको प्राथमिकता मिति अप्रिलमा १ मे २०१७ रहेकोमा मेमा १ सेप्टेम्बर २०१७ पुगेको छ। २१ वर्षमाथिका अविवाहित छोराछोरीको श्रेणीमा भने प्राथमिकता मिति स्थिर भई २२ मे २०१७ नै कायम रहेको छ।
विवाहित छोराछोरी श्रेणीमा २२ डिसेम्बर २०११ बाट अग्रता कायम भई १५ फेब्रुअरी २०१२ पुगेको छ भने दाजुभाइ तथा दिदीबहिनी श्रेणीमा ८ जुन २००८ बाट अग्रता कायम भई १५ सेप्टेम्बर २००८ पुगेको छ। ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरी श्रेणीको अन्तिम निर्णय मिति पनि १ फेब्रुअरी २०२४ बाट अग्रता कायम भई १ अगस्ट २०२४ पुगेको छ।
भिसा बुलेटिनअनुसार विभिन्न प्रशासनिक कार्य र राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिकताका कारण केही देशका नागरिकलाई जारी हुने भिसा संख्यामा कमी आएको छ। त्यसैले अन्य देशका लागि उपलब्ध भिसा संख्या उपयोग गर्न यी मितिहरू अगाडि सारिएका हुन्।
जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायत ७५ देशका नागरिकका आप्रवासी भिसा प्रक्रियामा रोक लगाएकाले भिसा अन्तर्वार्तालगायत सबै प्रक्रिया पूरा भए पनि भिसा जारी गरिएको छैन। त्यसकारण सबै प्रक्रिया पूरा गरेका आवेदकहरू पनि भिसा लिएर अमेरिका आउन पाएका छैनन्। जनवरी २१ अघि भिसा पाइसकेकाहरूलाई भने अमेरिका आउन रोक लगाइएको छैन।