अमेरिका-इन्डोनेसिया व्यापार सहमति
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहेका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुगेका छन् । ह्वाइट हाउसले बिहीबार घोषणा गरेको उक्त सहमतिलाई दुवै देशले द्विपक्षीय आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेका छन् ।
सम्झौताअनुसार दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले अमेरिकी वस्तुहरूमा लगाइँदै आएको ९९ प्रतिशत शुल्क हटाउनेछ । त्यसको बदलामा अमेरिकाले इन्डोनेसियाका अधिकांश वस्तुहरूमा १९ प्रतिशत भन्सार दर कायम गर्नेछ । यो दर यसअघि कम्बोडिया र मलेसियाका लागि पनि तय गरिएको थियो । साथै इन्डोनेसियाले गैर–कर अवरोधहरू सम्बोधन गर्ने र महत्त्वपूर्ण खनिज तथा अन्य औद्योगिक सामग्रीहरूको अमेरिकातर्फ निर्यातमा लगाइएका प्रतिबन्धहरू हटाउने प्रतिबद्धता जनाएको ह्वाइट हाउसले जनाएको छ ।
यसै सन्दर्भमा इन्डोनेसिया र अमेरिकी कम्पनीहरूबीच ३८ अर्ब ४० करोड डलर बराबरका ११ वटा व्यावसायिक सम्झौताहरू सम्पन्न भएका छन् । तीमध्ये अमेरिकी सोयाबिन, मकै, कपास र गहुँ खरिद, तेल क्षेत्र पुनःउत्थानमा सहकार्य, महत्त्वपूर्ण खनिज आपूर्ति तथा कम्प्युटर चिप्समा संयुक्त लगानी समावेश छन् । इन्डोनेसियाली कम्पनीहरूले १० लाख मिलियन टन सोयाबिन, १६ लाख टन मकै, ९३ हजार टन कपास तथा सन् २०३० सम्म ५० लाख टन गहुँ खरिद गर्ने सहमति व्यक्त गरेका छन् ।
बुधबार युएस चेम्बर अफ कमर्समा आयोजित कार्यक्रममा राष्ट्रपति प्रबोवोले पछिल्ला महिनाहरूमा गहन वार्ता भएको र धेरै विषयमा ठोस समझदारी बनेको बताए । ह्वाइट हाउसले उक्त सहमतिलाई ‘ठूलो सम्झौता’ भन्दै यसले आर्थिक सुरक्षा सुदृढ पार्ने, विकास प्रवर्द्धन गर्ने र विश्वव्यापी समृद्धिमा नेतृत्व गर्न सहयोग पुग्ने जनाएको छ । सम्झौतामा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर र इन्डोनेसियाका समकक्ष एयरलाङ्गा हार्टार्टोले हस्ताक्षर गरेका थिए । हार्टार्टोले यसलाई द्विपक्षीय सम्बन्धको ‘नयाँ स्वर्ण युग’ को सुरुआतका रूपमा व्याख्या गरे ।
व्यापार सहमतिसँगै कूटनीतिक सन्देश पनि जोडिएको छ । विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसङ्ख्या भएको देशका नेता प्रबोवोले गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बलका लागि आठ हजार वा आवश्यक परे थप सेना पठाउने प्रतिबद्धता दोहोर्याएका थिए । ट्रम्पले बैठकमा इन्डोनेसियाको भूमिकाको प्रशंसा गरे भने प्रबोवोले ट्रम्पको नेतृत्वमा ‘वास्तविक शान्ति’ सम्भव हुने विश्वास व्यक्त गरे ।
उक्त बोर्डमा कम्बोडिया र भियतनाम पनि सहभागी छन् । कम्बोडियाले अमेरिकासँग पहिल्यै व्यापार सम्झौता गरिसकेको छ भने भियतनाम फ्रेमवर्क सहमतिमा पुगेको छ । यसैबीच भियतनामका नेता टो लाम पुनःनिर्वाचित भएपछि पहिलो पटक अमेरिका आएका हुन् । विश्लेषकहरूले चीन भ्रमणअघि उनको अमेरिका यात्रा कूटनीतिक प्राथमिकतामा आएको परिवर्तनको सङ्केतका रूपमा लिएका छन् ।
अमेरिकाले भियतनामी निर्यातमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार वार्ता जारी छ । वार्ताको छैटौँ चरण फेब्रुअरीको सुरुमा सम्पन्न भएको थियो । महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा चीनको प्रभाव घटाउने अमेरिकी रणनीतिसँग जोडिएको यो व्यापक आर्थिक तथा कूटनीतिक पहललाई वासिङ्टनले क्षेत्रीय सन्तुलन सुदृढ गर्ने कदमका रूपमा हेरेको छ ।