सुनिता डंगोलको नजर पनि सुकुम्बासी बस्तीतिर, आइजीपी भेटेपछि तरंग
काठमाडौं । काठमाडौं महानगरपापलिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको आँखा पनि राजधानीका सुकुम्बासी बस्तीतिर परेको छ । मेयरमा निर्वाचित भएलगत्तै वालेन्द्र शाह बालेनले काठमाडौंका विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाएर उनीहरूको व्यवस्थापन गर्न लागेका थिए । तर उनी सफल हुन सकेनन् ।
बालेन अहिले प्रधानमन्त्री बनेका छन् । उनले मेयरबाट राजीनामा दिएर हिँडेपछि कार्यबाहक मेयरको जिम्मेवारी पाएकी सुनिता पनि सुकुम्बासी बस्ती हटाउने अभियानमा लागेको चर्चा छ । सुनिताले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग भेटवार्ता गरेकी छन् । बुधबार भएको भेटवार्तामा सार्वजनिक जग्गामा बनेका संरचना र सुकुम्बासी बस्ती हटाउनेबारे सल्लाह भएको बताइएको छ ।
उनले अवैध संरचना हटाउन प्रहरीको साथ मागेको र सकारात्मक जवाफ पाएको स्रोतले बतायो । यो भेटले सुकुम्बासी बस्तीमा तरंग सिर्जना गरेको छ । ‘अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्द्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, शहरलाई सडक मानवमुक्त बनाउने अभियानलगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ,’ डंगोलको भनाइ थियो, ‘महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ ।
यसले नागरिकहरुले महसुस गर्ने परिवर्तन प्राप्त गर्नुहुनेछ ।’ प्रहरी प्रमुख कार्कीले महानगरलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन तयार रहेको बताएका थिए । ‘उपत्यका प्रहरी कार्यालयमार्फत महानगरका काममा समन्वय हुनेछ । यसका लागि हामीले फोकल पर्सन तोकेका छौं,’ उनले भने ।