विराट गोल्डकप : उद्घाटनमा झापा-११ र आर्मी भिड्दै
विराटनगर। विराटनगरको सहिद रंगशालामा आज शनिबारदेखि विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण सुरु हुँदैछ। उद्घाटन खेलमा झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्।
फ्लडलाइट मुनि साँझ ६ बजेदेखि सुरु हुने यो खेलले ११ वर्षअघिको फाइनल भिडन्तको सम्झना ताजा गराउनेछ। २०७१ को फाइनलमा झापा-११ ले आर्मीलाई हराउँदै उपाधि जितेको थियो।
२०१८ सालमा ‘महेन्द्र गोल्डकप’को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै र प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ। आगामी वैशाख ५ गतेसम्म चल्ने यसपटकको संस्करणमा पहिलोपटक स्थानीय मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबलाई पनि अवसर दिइएको छ। प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित ए डिभिजनका शीर्ष क्लबहरू र भारतको झारखण्डको टोली गरी १० टोलीको सहभागिता रहनेछ।
विराट गोल्डकप ट्रष्टका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यस वर्षको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। झण्डै १ करोड ५ लाख रुपैयाँ बजेट अनुमान गरिएको यस प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याच र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ।