प्रतिनिधिसभा सदस्य निर्वाचनः सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् ।
आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२ अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ ।
यसै सन्दर्भमा निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा छलफल गरेको छ । काठमाडौँमा सम्पन्न कार्यक्रममा ७५ राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । चुनावी खर्चमा पारदर्शिता बढाउने उद्देश्यले आयोगले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।