सवारीसाधन र स्पेयर पार्ट्स ४४ अर्ब ८१ करोडको आयात, अनएसेम्बलको हिस्सा धेरै
काठमाडौं। चालु आर्थिक वर्ष पाँच महिनामा करिब आधा खर्ब रुपैयाँको सवारीसाधन र स्पेयर पार्ट्स आयात भएको छ।
भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म ४४ अर्ब ८१ करोड रुपैयाँको सवारीसाधन र त्यसका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स आयात गरिएको हो।
यो आयात पोहोर पहिलो पाँच महिनाको तुलनामा धेरै हो। गत आर्थिक वर्ष साउनदेखि मंसिरसम्म करिब ३८ अर्ब रुपैयाँ बराबरका सवारीसाधन र स्पेयर पार्ट्स आयात भएका थिए।
यसपालि पाँच महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरका २३ हजार २६ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन्। यसबाट सरकारले ६ अर्ब ६१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
गत वर्ष सोही अवधिमा १५ अर्ब रुपैयाँ बराबरका १८ हजार ४६१ युनिट विद्युतीय सवारीसाधन आयात गरिएको थियो।
यसपालि २९ अर्ब २६ करोड रुपैयाँ बराबरका १ लाख ३८ हजार २३० युनिट इन्धन सवारीसाधन आयात भएका छन्। यसबाट सरकारले ३१ अर्ब ३३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
गत आवको पाँच महिनामा २० अर्ब २८ करोड रुपैयाँ बराबरका १ लाख १० हजार ४९ युनिट इन्धन सवारीसाधन आयात भएको तथ्यांक छ। यस्तै साउनदेखि मंसिरसम्म ३ अर्ब २४ करोड रुपैयाँको स्पेयर पार्ट्स आयात गरिएको छ।
इन्धन सवारीमा अनएसेम्बलको हिस्सा बढ्दै
सरकारी प्रोत्साहन र सहुलियत प्याकेजका कारण इन्धन सवारीसाधन अनएसेम्बल भित्र्याउने क्रम बढेको छ।
साउनदेखि मंसिरसम्म इन्धन दुई पाङ्ग्रे सवारीसाधन १४ अर्ब ४९ करोड रुपैयाँ बराबरका १ लाख १४ हजार ६५१ युनिट आयात गरिएको छ। यसमा अनएसेम्बलको हिस्सा ८० प्रतिशतभन्दा धेरै छ।
पाँच महिनामा ९७ हजार ५५७ युनिट अनएसेम्बल बाइक आयात गरिएको छ। गत वर्ष इन्धन बाइकमा अनएसेम्बलको हिस्सा ५० प्रतिशत भन्दा धेरै थियो।
नेपालमा अहिले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधनका आधा दर्जन एसेम्बल प्लान्ट संचालनमा छन्। साथै चार पाङ्ग्रे सवारीसाधनको एउटा एसेम्बल प्लान्ट छ।
चालु आवको साउनदेखि मंसिरसम्म अनएसेम्बल इन्धन चार पाङ्ग्रे सवारीसाधन १ हजार ३४२ युनिट आयात गरिएको छ। ती सबै हुन्डाईका हुन्। हुन्डाईका अनएसेम्बल गाडी पोहोर पाँच महिनामा जम्मा १२३ युनिट आयात भएको थियो।
यस्तै अनएसेम्बल इन्धन तीन पाङ्ग्रे अटो रिक्सा पाँच महिनामा १ हजार ७११ युनिट आयात भएको भन्सार विभागले जनाएको छ। गत वर्ष सोही अवधिमा अनएसेम्बल तीन पाङ्ग्रे अटो रिक्सा १ हजार ६३९ युनिट आयात गरिएको थियो।
अनएसेम्बल इलेक्ट्रिक तीन पाङ्ग्रे सवारी चालु आवमा हालसम्म ४ हजार ८६७ युनिट आयात गरिएका छन्। गत वर्ष साउनदेखि मंसिरसम्म यो संख्या ३ हजार २५० युनिट थियो।
The post सवारीसाधन र स्पेयर पार्ट्स ४४ अर्ब ८१ करोडको आयात, अनएसेम्बलको हिस्सा धेरै appeared first on BIZMANDU.