npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

नयाँवर्षमा सूर्योदयः नगरकोट–रानीकोटमा आन्तरिक र बाह्य पर्यटकले भरिभराउ, होटल व्यवसायी उत्साहित

पालिका ब्यूरो 2 days ago

भक्तपुर — नयाँ वर्ष २०८३ को आगमनसँगै पहिलो सूर्योदय अवलोकन गर्न भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र रानीकोट क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको छ । नयाँ वर्षको स्वागतसँगै यहाँका होटलहरू भरिभराउ हुँदा पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।

नगरकोटमा बिहानी सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको हो। होटल व्यवसायीहरूका अनुसार यस वर्ष आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

होटल चौतारीका सञ्चालक बद्री माकका अनुसार नयाँ वर्षको अवसरमा नगरकोटका होटलहरू करिब ५० प्रतिशत विदेशी र ५० प्रतिशत स्वदेशी पर्यटकले भरिएका छन् । “अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यसपटक पर्यटकको चाप विगत वर्षभन्दा धेरै बढेको छ,” उनले बताए ।

त्यसैगरी नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले पर्यटकको बढ्दो आगमनले थप होटल विस्तार र लगानीको वातावरण बनेको बताए । उनका अनुसार चिसो रातमै पनि सूर्योदय हेर्न र नयाँ वर्ष मनाउन पर्यटकको आकर्षण बढ्दो छ ।

नगरकोटका अर्का व्यवसायी रामशङ्कर ध्वजुले नयाँ वर्षले पर्यटन क्षेत्रमा उत्साह थपेको बताए भने होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनको योगदान उल्लेख्य रूपमा बढेको टिप्पणी गरे ।

नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाका अनुसार यहाँ सामान्यदेखि उच्चस्तरीय होटलहरू सञ्चालनमा छन् र पर्यटकको बढ्दो चापले नयाँ होटल थपिने क्रमसमेत जारी छ ।

यसैबीच, सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट तथा घ्याम्पेडाँडा क्षेत्र पनि नयाँ वर्षमा पर्यटकले भरिभराउ भएको छ। रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेका अनुसार यहाँबाट कञ्चनजङ्घा, सगरमाथा, मकालु, अन्नपूर्णलगायत आठ हजार मिटरभन्दा अग्ला हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।

“नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले सबै होटल भरिएका छन्,” उनले भने, । उनका अनुसार सूर्यविनायक–रानीकोट क्षेत्र पछिल्ला वर्षहरूमा अत्यन्तै लोकप्रिय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

त्यसैगरी घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले पनि आन्तरिक पर्यटकको चापले पर्यटन व्यवसायमा उत्साह थपिएको बताए । नयाँ वर्षको भीडले होटल व्यवसायीहरूमा थप लगानी र विस्तारको आत्मविश्वास बढाएको छ ।

समग्रमा, नयाँ वर्ष २०८३ को सुरुवातसँगै नगरकोट–रानीकोट क्षेत्र पर्यटनको प्रमुख आकर्षणका रूपमा पुनः स्थापित भएको देखिएको छ, जसले स्थानीय पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ ।

Read more news from PalikaNews

Explore by Source or Category