नेयमारको घुँडाको शल्यक्रिया सफल
एजेन्सी – ब्राजिल र सान्तोस फरवार्ड नेयमारको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ। उनको घुँडाको मेनिस्कसमा समस्या देखिएपछि अपरेसन गरिएको हो।
३३ वर्षीय नेयमारले कठिन सिजनका बीच पनि चोटग्रस्त हुँदै सान्तोसका लागि खेलेका थिए । क्लबलाई ब्राजिलको शीर्ष लिगबाट रेलिगेसन हुनबाट जोगाउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए।
सान्तोस अनुसार ब्राजिल राष्ट्रिय टोलीका चिकित्सकले नेयमारको आर्थ्रोस्कोपिक शल्यक्रिया गरेका हुन्। यसअघि पनि तिनै चिकित्सकले नेयमारको खुट्टाको फ्र्याक्चर र सन् २०२३ मा भएको एसिएल चोटको उपचार गरेका थिए।
यो शल्यक्रियापछि नेयमारको २०२६ विश्वकपका लागि ब्राजिल टोलीमा फर्किने आशा बढेको छ। उनी ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय २८ खेलमा ७९ गोल गरेका छन्। तर उनी पछिल्ला दुई वर्षभन्दा बढी समयदेखि राष्ट्रिय टोलीबाट बाहिर छन्।
नेयमार जनवरीमा साउदी क्लब अल–हिलाल छाडेर आफ्नो पुरानो क्लब सान्तोस फर्किएका थिए। उनले सिजनका अन्तिम ४ खेलमा ५ गोल गर्दै टोलीको अस्तित्व जोगाउन योगदान दिएका थिए।
नेयमारको सान्तोससँगको सम्झौता यो वर्षको अन्त्यमा सकिँदैछ । तर क्लबसँग नयाँ सम्झौताका लागि छलफल भइरहेको बताइएको छ।
The post नेयमारको घुँडाको शल्यक्रिया सफल first appeared on हाम्रो खेलकुद.