npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा

Prakash Timalsina 8 hours ago

इटहरी (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड
१६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको क्वाटरफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३-१ ले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुगेको हो।

बुढासुब्बा गोल्डकप च्याम्पियनसमेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले २ गोल तथा धिरेन्द्र शाहले १ गोल गरे।

खेलको पाँचौँ मिनेटमै प्लानिङ ब्वाइजले अग्रता बनायो। युकेएफसीका दिवश रोयले धिरेन्द्र शाहलाई डि एरियाभित्र फाउल गरेपछि फिफा रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी दियो । उक्त पेनाल्टीलाई कप्तान फागुराम थारुले गोलमा परिणत गर्दै टोलीलाई १-० को अग्रता दिलाए।

२३औँ मिनेटमा फागुरामले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। उनले विपक्षी गोलकिपरलाई बिट गर्दै सहज गोल गरे।

त्यसपछि २७औँ मिनेटमा डिफेण्डरको कमजोरीको फाइदा उठाउँदै धिरेन्द्र शाहले गोल गरेपछि पहिलो हाफमै प्लानिङ ब्वाइजले ३-० को बलियो अग्रता बनायो।

दोस्रो हाफमा युकेएफसीले एक गोल फर्कायो। खेलको ५९औँ मिनेटमा निवास राणाले गोल गर्दै अन्तर घटाए पनि त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त हुन सकेन।

प्लानिङ ब्वाइजका कप्तान फागुराम थारु खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा युवा समाज र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

The post प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category