npl.977 Nepal News Stream

GandakNews logo GandakNews

राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान

गण्डक न्यूज 1 day ago

नेपाली फुटबलको इतिहासमा पहिलो पटक कास्की सहित गण्डकी प्रदेशबाट पहिलो पटक प्रतिष्ठित प्रतियोगिता राष्ट्रिय लिगमा पोखराको लालीगुराँस (एलजी) एसोसियसन क्लब सहभागी हुन लागेको छ ।

यही पुष २५ गतेबाट हुने उक्त प्रतियोगितामा एलजी एसोसियसनले ३ विदेशी खेलाडी सहितको टिम तयारी गरी उक्त प्रतियोगितामा सहभागि हुनको लागि करिब एक करोड रुपैया आर्थिक व्ययभार हुने हुँदा उक्त रकम जोहो गर्न क्लबले सरोकारवाला निकायसंग पोखरामा पत्रकार सम्मेलन गर्दै आव्हान गरेको हो ।

एन्फा प्रेसिडेण्ट कप सम्मको यात्रामा आउदा क्लवले सहयोगी, शुभेच्छुक तथा केही ऋण समेत प्रयोग गरी करिब ५० लाख रुपैयाँ भन्दा बढी खर्च गरेको संस्थाका अध्यक्ष डम्बरजंग गुरुङले बताए । राष्ट्रिय लिगमा भने एक करोड खर्च हुने उक्त रकम कहाँ र कसरी व्यबस्थापन गर्ने बिषयमा अन्यौलमा परेको पत्रकार सम्मेलनमा उनले बताए । यो यात्रा केवल संस्थाको मात्र नभई गण्डकी प्रदेशको पहिचान, सम्भावना र फुटबल संस्कृतिको प्रतिनिधित्व भएको उनको भनाइ छ।

कास्की जिल्ला लिग, प्रदेश लिग विजेता हुँदै हेटौंडाको गौरीटार रंगशालामा सम्पन्न प्रेसिडेण्ट कपको उपाधि जितेर राष्ट्रिय लिगमा प्रवेश गर्न सफल भएको क्लवले अब राष्ट्रिय लिगमा सहभागी हुँदा पदाधिकारीहरुको ठुलो ऋण भार हुने, सहभागी नहुँदा अखिल नेपाल फुटबल संघले कार्वाही गर्ने हुँदा बजेटको जोहो गर्नु आफुहरुको पहिलो आवश्यकता भएको महासचिव ईश्वर बस्यालले बताए ।

पोखरा–१२, कार्यालय रहेको लालीगुराँस एसोसिएसन क्लव २०६९ सालदेखि सामाजिक उत्तरदायित्व सहित फुटबल विकासमा सक्रिय रहँदै आएको क्लब हो । सीमित स्रोत–साधनका बाबजुद अनुशासन, निरन्तर मेहनत र प्रतिबद्धताका साथ क्लबले राष्ट्रिय मञ्चमा स्थान सुरक्षित गर्नु कास्की, पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक उपलब्धि भएको क्लवले जनाएको छ ।

कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रन्जितले राष्ट्रिय लिगमा सहभागी हुने लालीगुराँस एसोसिएसन संस्थालाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै बधाई दिए । उनले उत्कृष्ट खेल प्रदर्शनको अपेक्षा गर्दै आगामी दिनमा पनि आवश्यक साथ–सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले लालीगुराँस एसोसिएसनले यस क्षेत्रको फुटबल इतिहासमा नयाँ कीर्तिमान कायम गरेको बताउँदै आवश्यक सहयोगका लागि आफू प्रतिबद्ध रहेको जनाए । उनले प्रदेश सरकार र पोखरा महानगरपालिकाबाट समेत आर्थिक सहयोग जुटाउन समन्वय भइरहेको जानकारी दिए ।

क्लबका महासचिव ईश्वर बस्यालले क्लबमा आबद्ध खेलाडीहरूले एक सिजनमा न्यूनतम १ लाखदेखि २ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने व्यवस्था रहेको जानकारी दिए ।

साथै, राष्ट्रिय खेलाडी तथा लालीगुराँस फुटबल एकेडेमी एवं पोखरा क्षेत्रका विभिन्न क्लबहरूबाट उत्पादन भएका स्थानीय खेलाडीहरूलाई समेटेर टिम निर्माण गरिएको उनले बताए । नेपाली फुटबल हाल आर्थिक, व्यवस्थापकीय र संरचनागत चुनौतीबाट गुज्रिरहेको सन्दर्भ उल्लेख गर्दै क्लबले स्थानीय व्यवसायी, उद्योगी, प्रवासी नेपाली, खेलप्रेमी तथा कर्पोरेट क्षेत्रसँग आर्थिक, नैतिक र संस्थागत सहयोगका लागि हार्दिक अपिल समेत गरेको छ ।

साथै, अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश सरकारलाई राष्ट्रिय लिगलाई प्राथमिकतामा राखी खेलाडीको आर्थिक सुरक्षा, क्लबहरूको दिगोपन, पारदर्शी व्यवस्थापन र दीर्घकालीन नीति निर्माणमा विशेष ध्यान दिन क्लबले आग्रह गरेको छ । प्रदेशको गौरव, खेलाडीको भविष्य र नेपाली फुटबलको सम्मान सुरक्षित राख्न राज्य, संघ, निजी क्षेत्र र नागरिक सबैको साझा प्रयास अपरिहार्य रहेको क्लबको निष्कर्ष छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष २५ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । सुरुमा ए डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपका सेमिफाइनल पुगेका ४ सहित १० क्लबले प्रतिस्पर्धा गर्ने तय थियो । यद्यपी एन्फादेखि युवा तथा खेलकुद मन्त्रालयसम्मको छलफल अनि फुटबल खेलाडी संघको आन्दोलनपछि एन्फाले राष्ट्रिय लिगमा अन्य क्लबका लागि पनि खेल्ने बाटो खुल्ला गरेको थियो । त्यसमा बाँकी ८ ए डिभिजन क्लबमध्ये ७ क्लबले नाम दर्ता गरेपछि कूल १७ क्लब पुगेको हो ।

‘राष्ट्रिय लिगमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपका ४ गरी १७ क्लबको सहभागिता हुनेछ । हिमालयन शेर्पा क्लबले भने नाम दर्ता गरेको छैन । पछिल्लो पटक २०७९÷८० मा भएको शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष ६ मा रहेका क्लब र एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनलमा पुगेका चार क्लब बाहेक ए डिभिजनका अन्य ७ क्लब पनि थपिएको हो ।

Read more news from GandakNews

Explore by Source or Category