एन्फा निर्वाचन पुनः स्थगित
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन पुनः स्थगित भएको छ। निर्वाचन आयोगले फागुन ६ गते दोस्रो पटक पत्र काटेर एन्फा निर्वाचन सबै प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो।
त्यो निर्देशनलाई अटेर गर्दै निर्वाचन प्रक्रियालाई पुनः सुरु गरेको एन्फाले आज सुरक्षाकर्मी परिचालनपछि निर्वाचन
स्थगित गर्न बाध्य भएको छ।
एन्फा निर्वाचन समितिले आज साँझ सुचना जारी गर्दै अर्को फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अर्को सुचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ।
एन्फा निर्वाचन समितिले पछिल्लो पटक जारी गरेको तालिका अनुसार आज उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामावली प्रकाशन हुने कार्यक्रम रहेको थियो।
निर्वाचन बुधवार आयोगले निर्देशनको कार्यान्वयन प्रक्रिया जानकारी छिट्टै आयोगलाई गराउन पनि भनेको थियो। त्यसका बाबजुद एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
अन्यथा निर्वाचन आचारसंहिता, २०८२ अनुसार कारबाही गरिने चेतावनी आयोगका कानून अधिकृत मोहनराज जोशीले फागुन ६ जारी गरेको पत्रमा उल्लेख गरिएको थियो।
आयोगले माघ ४ गतेको निर्णयअनुसार निर्वाचन आचारसंहिता लागू भइरहेकोले निर्वाचन कार्यक्रमका सबै स्थगित गर्न निर्देशन दिएको हो।
निर्वाचन सम्बन्धी मुद्दाको किनारा लगाउने क्रम उच्च अदालत पाटनले माघ २७ गते त्यसअघिको अन्तरिम आदेश खारेज गरेसँगै एन्फाको निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसकै आधारमा सि डिभिजन क्लबको केही दिनअघि तथा बी डिभिजन क्लब, कोशी र गण्डकी प्रदेशको प्रतिनिधि चयन गरिएको थियो।
एन्फा निर्वाचन समितिले निर्वाचन प्रक्रिया पुनः अघि बढाएपछि एन्फा केन्द्रीय सदस्य रुपेश अधिकारीले निर्वाचन रोक्नका लागि फागुन ५ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यहि निवेदनका आधारमा आयोगले एन्फालाई आज निर्वाचन रोक्न पत्रचार गरेको थियो।
यसअघि माघ २८ गतेका लागि तय निर्वाचन विरुद्ध उच्च अदालत पाटनमा दायर रिटका आधारमा अन्तरिम आदेश जारी भएपछि स्थगित भएको छ। उच्चले माघ २७ अन्तरिम आदेश खारेज गरेपछि एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
माघ ३ गतेकै मनोनयन दर्ताका आधारमा एन्फा निर्वाचन गर्ने गरि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। जसमा फागुन २७ गते साधारण सभा तथा निर्वाचन गर्ने उल्लेख छ।
केन्द्रीय कार्यसमितिको अध्यक्षका लागि वर्तमान एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले मनोनयन दर्ता गरेका छन्।
१ वरिष्ठ उपाध्यक्षका २ , ४ उपाध्यक्षका लागि १० र १५ केन्द्रीय सदस्यका लागि ३० भन्दा बढीले मनोनयन दर्ता गराएका छन्।


The post एन्फा निर्वाचन पुनः स्थगित first appeared on हाम्रो खेलकुद.