बडिगाड गाउँपालिकामा स्वास्थ्य चौकी शिलान्यास
काठमाडौँ- बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गरिएको छ।
बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र नेपालका लागि भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब २.५ करोड (नेपाली रुपैयाँ) को आर्थिक सहयोगमा निर्माण हुन लागेको स्वास्थ्इ चौधी बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिने छ।
यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत सञ्चालनमा ल्याइएको भारतीय दूतावासले जनाएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ स्वास्थ्य चौकीले क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
नेपाल र भारतबीचको बहुआयामिक सहकार्य अन्तर्गत सञ्चालित यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकासमा योगदान पुर्याउनुका साथै विकास र समृद्धि हासिल गर्ने प्रयासलाई थप बल पुर्याउने विश्वास व्यक्त गरिएको छ।